ललित बसेल
सुर्खेत, पुस ८ गते । जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) को मात्र सेवा सुरु गरेको कार्यालयले यही पुस १ देखि नेलिस प्रणालीमा रहेका अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरणको सेवा सुरु गरेको हो ।
कार्यालय सञ्चालनको एक महिनाको अन्तरमा किस्ता किस्तामा सेवाग्राहीलाई कार्यालयले सेवा दिएको छ । अन्तिम र पूर्ण सेवा सुरु गर्न भने अब निकै समय लाग्ने कार्यालयले जनाएको छ । आगजनीबाट उक्त कार्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो । कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङका साथै सेवाग्राहीलाई सहज हुने कामका लागि आवश्यक पूर्वाधार जडान गरिएपछि सेवा दिन थालिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत दिनेशकुमार भण्डारीले बताउनुभयो । उहाँले दुई किस्तामा गरी सेवाग्राहीलाई करिब ७५ प्रतिशत आवश्यक पर्ने सेवा प्रदान गर्न सफल भएको जनाउँदै अन्तिम किस्ताको सेवा सञ्चालन गर्न भने केही समय लाग्ने जानकारी दिनुभयो । कार्यालयले यही पुस १ देखि दिएको सेवामा अनलाइन (नेलिस) प्रणालीमा आबद्ध रहेका कित्ताको मात्र रेखाङ्कन, कित्ताकाट, लगतकट्टा तथा कित्ता एकीकरण रहेका छन् । सर्वसाधारणलाई यिनै सेवा आवश्यक पर्ने भएकाले उपकरण जुटाएर यो सेवा सुरु गरिएको नापी अधिकृत भण्डारीले बताउनुभयो । अझै पनि पूर्ण रूपमा डाटा उपलब्ध नभएका कारण साबिक गाउँ ब्लक, भूमिसम्बन्धी आयोगबाट वितरण भएका जग्गा र नयाँ नापीबमोजिम स्रेस्ता लागु भएका (नयाँ नापीको वीरेन्द्रनगर–७, ८ र ९) का जग्गाका सबै सेवा प्रवाह गर्न नसकिने कार्यालयले जनाएको छ ।
नापी अधिकृत भण्डारीले सर्वसाधारणलाई आवश्यक पर्ने कित्ताकाट, लगतकट्टा, कित्ता एकीकरण जस्ता कामले बैङ्किङलगायत अन्य काम गर्न सहज हुने भएकाले अहिलेलाई यही सेवा मात्र प्रदान गर्न सफल भएको बताउनुभयो । साथै सेवाग्राहीलाई सेवा सञ्चालन भएको क्षेत्रका लागि आफूसँग भएका जग्गासम्बन्धी कागजात र नक्सा लिएर आउन पनि उहाँले आग्रह गर्नुभयो । अझै ‘हार्डडिस्क रिकभर’ नभएकाले अन्य सेवा दिन भने अहिले नसकिने उहाँको भनाइ छ । त्यसका लागि कहिले ‘हार्डडिस्क रिकभर’ हुने भन्ने विषयमा नापी विभागसँग समन्वय भएको हुँदा अब अन्तिम किस्ताको सेवा प्रदान गर्न अझै समय लाग्न सक्ने नापी अधिकृत भण्डारीले बताउनुभयो । हालसम्म कार्यालयबाट प्रदान गरिने कुल सेवाको ७५ प्रतिशत सेवा प्रदान गर्न सकिएको र पूर्ण सेवा प्रदान गर्न भने समय लाग्ने उहाँको भनाइ छ । यस्तै क्षतिग्रस्त कार्यालय पुनर्निर्माणको काम पनि अन्तिम चरणमा छ । विभिन्न कार्यालय, स्थानीय पालिकासँग सहयोग मागेर कार्यालय पुनर्निर्माण गरिएको छ ।
जेनजी समूहको आगजनीबाट महत्वपूर्ण कागजात तथा संरचना जलेर नष्ट भएको थियो । कार्यालयले पछि बचेका स्थानको हातले लेखेर प्लट रजिस्टर पुनस्र्थापनाको काम गरेको थियो । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । कार्यालयले विभागबाट नयाँ रजिस्टर मगाएर हातले पुनस्र्थापना गर्ने काम गरेको थियो । जलेका कागजात करिब पाँच प्रतिशत मात्रै काम लाग्ने खालको बचेको र अन्य सबै खरानी भएको नापी प्रमुख भण्डारीले बताउनुभयो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनीबाट सो कार्यालयको करिब तीन करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो ।