सन्तोष दहित
दाङ, पुस ८ गते । दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शंकर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । नवौं अधिवेशनको कार्यक्रमअन्तर्गत सोमबार भएको उम्मेदवारको मनोनयन दर्ताको समयसीमा भित्र अध्यक्षमा गौतमको एकल उम्मेदवारी परेपछि उहाँ सातौं पटक अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
२०५८ सालमा कोषाध्यक्षबाट भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यात्रा सुरु गर्नु भएका गौतम २०६४ सालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । संस्थाको आठौं कार्यकालका लागि आइतबार दिउँसो १२ देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । अध्यक्षमा गौतमको मात्रै उम्मेदवारी परेको थियो । पाँच जना पदाधिकारीसहित ११ सदस्यीय कार्यसमितिको सबै पदमा पनि एक–एक जनाको मात्रै उम्मेदवारी परेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार एवम् निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
नयाँ नेतृत्वका लागि सोमबार भएको मनोनयन दर्ता कार्यक्रममा उपाध्यक्षका लागि जंगबहादुर जिसी, सचीवमा मिनराज लम्साल, सह सचीवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको मात्रै उम्मेदवारी परेको छ । यसैगरी, सदस्यहरुमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेदवारी परेको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ । सोमबार उम्मेदवारी परेका मध्य उपाध्यक्ष जिसी पहिले पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो । त्यस्तै, सचिवमा उम्मेदवारी दिनुभएका लम्साल सहसचिव हुनुहुन्थ्यो भने सहसचिव शान्तराज अधिकारी कार्यसमिति सदस्य र कोषाध्यक्षमा उम्मेदवारी दिनुभएका आचार्य कार्यसमिति सदस्य हुनुहुन्थ्यो । त्यस्तै, कार्यसमितिका सदस्यहरु मध्ये चार जना नयाँ र दुई जना पूरानै अनुहार हुनुहुन्छ ।
उम्मेदवारी दर्ता गरेकाहरुले मङ्गलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको र त्यसपछि मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभएको छ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औं साधारणसभा गत शनिबार घोराहीमा भएको थियो । एउटै पदमा एकभन्दा बढीको उम्मेदवारी परे पुस १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।