• २६ वैशाख २०८२, शुक्रबार

वातावरण संरक्षणका लागि विद्यार्थी जागरण

blog

वातावरण संरक्षणकर्मीका अनुभव सुन्दै विद्यार्थी । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) वैशाख २६ गते । मानवीय गतिविधीका कारण वातावरणमा नकरात्मक असर पर्न थालेपछि वातावरण संरक्षणका लागि विद्यार्थी जागरण कार्यक्रम थालिएको छ । 

विश्व रामसार साइडमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रकै नामबाट सञ्चालित घोडाघोडी बहुमुखी क्याम्पसले पछिल्लो केहि वर्ष यता स्नातक तहका विद्यार्थीहरूलाई जलवायु परिवर्तनको असरले पारेको प्रभाव र वातावरण संरक्षणका विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ । 

सोही कार्यक्रम अनुरूप वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूका अनुभव बाँड्ने र विज्ञहरूको सान्दर्भिक विद्यार्थीमाझ पुर्‍याउने कार्य गर्दै आएको क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीले जानकारी दिनुभयो ।

बिहीबार क्याम्पसमा कैलालीका गुलेली बाजेका नामले परिचित संरक्षणकर्मी ९२ वर्षीय भोजराज श्रेष्ठका अनुभव सुनेर धेरै विद्यार्थी उत्साहित भए । श्रेष्ठले गुलेली सङ्कलन गरेर वन वातावरणमा आफूले पुर्याएको योगदानमा थुप्रै विद्यार्थीले साथ दिएको अनुभव सुनाउनुभयो । उहाँको अभियानमा साथ दिएका थुप्रै विद्यार्थी अहिले पनि संरक्षण अभियानमा जुटेको श्रेष्ठले उल्लेख गर्नुभयो । उमेरले अशक्त हुँदा पनि वातावरण संरक्षणको कार्यक्रममा जाने आफ्ना अनुभव सुनाउने कुराले उहाँमा छुट्टै जोस देखिन्थ्यो ।

वातावरण संरक्षणमा आदर्श व्यक्तिको रूपमा विद्यार्थीमाझ श्रेष्ठलाई सम्मानसमेत गरियो । विद्यार्थीलाई चरा संरक्षण, जलचर तथा डल्फिन संरक्षणका बारेमा संरक्षणकर्मीहरू विजयराज श्रेष्ठ, हिरुलाल डंगौरालेसमेत अनुभव सुनाउनुभयो । उहाँहरूको अनुभवले धेरै विद्यार्थीले संरक्षणमा काम गर्न उत्प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर रावतले विदेश पलायन हुने युवाशक्ति मध्ये धेरै विद्यार्थीहरू रहेकोले नेपालमै केहि गर्नुपर्छ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारले समेत स्थानीय स्तरमै रोजगार सृजना गर्ने गरि विभिन्न शिपमुलक तालिमहरू सञ्चालनगरि वातावरण मैत्री उत्पादनमा जोड दिएको बताउनुभयो ।

स्वास्थ्य तथा वातावरण सेलका संयोजक सुनिलराज सापकोटाले स्वच्छ र सुन्दर वातावरण बनाईराख्न क्याम्पस परिसरबाट नै विद्यार्थीलाई जागरुक गरिएको बताउनुभयो । उहाँले क्याम्पस स्थापना दिवस, वातावरण दिवसमा वृक्षारोपणलगायत सामुदायमा आधारित कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।