• १२ मंसिर २०८१, बुधबार

दिवा खाजाको पैसा अभिभावकलाई

blog

परासी समाचारदाता 

नवलपरासी, माघ २० गते । नवलपरासीका कतिपय विद्यालयले विद्यार्थीलाई उपलब्ध गराइएको दिवा खाजाको पैसा अभिभावकलाई दिने गरेको पाइएको छ। सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने व्यवस्था गरेको छ। 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको सिद्धार्थ माध्यमिक विद्यालय प्रशासनले बालबालिकालाई दिने दिवा खाजाको पैसा अभिभावकलाई नगद दिने गरेको पाइएको छ।

विद्यालयले बालबालिकालाई खाजा दिनुको सट्टा अभिभावकलाई नगद दिने गरेको पाल्हीनन्दन गाउँपालिका–३ कुस्मास्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्रप्रसाद शर्माले स्वीकार्नुभयो। प्रधानाध्यापक शर्माका अनुसार विद्यार्थीलाई खाजा दिनुभन्दा विद्यार्थीका अभिभावकलाई रकम दिएपछि विद्यार्थीलाई जसरी पनि विद्यालय पठाउने गरेका छन्। विद्यार्थीलाई विद्यालयमै खाजा दिनुपर्ने पैसा विद्यालयका प्रधानाध्यापक र लेखा कर्मचारीको मिलेमतोमा अपारदर्शी तरिकाबाट आर्थिक काम गर्ने गरेको भन्दै सिद्धार्थ माध्यमिक विद्यालय कुस्माका अर्का शिक्षक सन्तराज यादवले असन्तुष्टि व्यक्त गर्नुभयो। 

पाल्हीनन्दनका कतिपय विद्यालयले विद्यार्थीलाई खाजा नखुवाएर अभिभावकलाई नगद दिने गरेको, नगद दिँदा मनमानी तरिकाले अभिभावकलाई पैसा दिने गरेको, विद्यार्थीको हाजिरीका आधारमा पैसा दिइने गरेको पाइएको छ। 

खाजा दिँदै आएका विद्यालयले पनि विद्यार्थीलाई मैदाबाट बनेका, सस्ता, बजारिया खाद्य वस्तु दिने गरेको, सस्तो सामान दिएर बालबालिकाको खाजाको रकममा समेत व्यापक आर्थिक हिनामिना गरेको आरोप लागेको पाल्हीनन्दन गाउँपालिकाका स्थानीय हरिहर चौहानले बताउनुभयो। 

सरकारले बालबालिकाको दिवा खाजाको रकम अभिभावकलाई दिन नमिल्ने व्यवस्था रहेको पाल्हीनन्दन गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादवले बताउनुभयो। पाल्हीनन्दन गाउँपालिकामा कक्षा १० सम्मका चारवटा विद्यालय, १२ कक्षासम्मका विद्यालय तीनसहित आधारभूत विद्यालय गरी जम्मा १५ वटा विद्यालय रहेका छन्।