• १२ मंसिर २०८१, बुधबार

तीन करोड लगानीमा साबुन उद्योग सञ्चालन

blog

लीलाधर वली 

घोराही, माघ २० गते । दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ । 

लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । 

शर्माले उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यताका कारण केही समस्या भएको बताउनुभयो । “व्यवसाय राम्रोसँग चल्यो र आम्दानी बढ्दै गयो भने उद्योगलाई विस्तार गर्दै लैजाने सोच रहेको छ,” उहाँले भन्नुभयो । उद्योगले दैनिक करिब एक सय कार्टोन साबुन उत्पादन गर्दै आएको छ । उद्योगमा अहिले नौ जनाले रोजगारी पाएका छन् । 

अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन भइरहे पनि आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगका सञ्चालक शर्माले जानकारी दिनुभयो ।