• १६ कात्तिक २०८१, शुक्रबार

जुँगा जतनको भत्ताले जोगिएका जुँगा

blog

जुँगे रामबहादुर भनिने पाँच मोहाेर जुँगा भत्ता पाउनु हुने रामबहादुर कार्की । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, माघ २० गते । कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ । 

तत्कालीन राजा महेन्द्रबाट जुँगाको जतन गर्न पाउनु भएको भत्ताको प्रभावले अहिले भत्ता नपाउँदा पनि ९० वर्ष पार गरेर पनि दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेका जुँगे रामबहादुरका नामले चिनिने रामबहादुर कार्कीले आफ्नो जुँगा जोगाएरै राख्नु भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार राजदरबारमा राजाकै सुरक्षामा खटिँदा तत्कालीन राजा महेन्द्रबाट जुँगाको जतन गर्न मासिक पाँच मोहोर पाएको हुँ । सात वर्ष पाएँ । महेन्द्रको स्वर्गारोहणपछि वीरेन्द्रको गद्दी आरोहणसँगै भत्ता काटिएको हो । २०११ सालमा सेना प्रवेश गरी २०३३ सालमा २४ वर्षपछि अवकाश पाएको हुँ । 

शरीरलाई स्वास्थ्य राख्ने खानपिन नै हो भन्ने रामबहादुरको यो उमेरमा पनि हेर्दा पोटिला गाला, सेता लामा जुँगा, अगाडि भागमा रहेका सेता दाँत, ढाड कुप्रिएको छैन । कान प्रस्ट सुन्नु हुन्छ । जुँगाको रेखी बसे देखिनै जुँगा पाल्ने सौखिन कार्कीले बाबुआमाको काजक्रियाबाहेक जुँगा काट्नु भएको छैन । 

जीवनको पूर्वार्धलाई स्मरण गर्दै उहाँले भन्नु भयो, प्रत्येक घरमा २०÷२५ वटा गाई भैँसी पालिन्थे । सानैदेखि गोठमा सुत्ने खुब रहर हुन्थ्यो । ब्राह्मणले लेखेर दिएका श्लोकहरू गोठमा दाउरा बालेर कण्ठ गरिन्थ्यो । त्यति बेला स्कुल भने नि क्याम्पस भने नि गोठ नै शिक्षा प्राप्त गर्ने थलो थियो । भकारीभरि धान कोदो र भोटको नुन घरभरि हुनु नै सबैभन्दा सम्पत्तिवाला कहलिन्थ्यो । 

ब्राह्मण र क्षत्रीले कुखुराको मासु खान हुन्न भनिन्थ्यो, खाने चलन पनि थिएन । उहाँले भन्नु भयो, चियाको पनि चलन थिएन । दूध, दही, मोही प्रशस्त पिउने चलन थियो । बिहान सबेरै उठ्ने न्यास ध्यान गर्ने गर्दा स्वास्थ्य भइँदो रहेछ । अहिले थाहा भयो । यी कर्म नहुँदा अहिलेका मानिस धेरै बिरामी र दीर्घ रोगी बनेका हुन् । अहिले अनुशासन हराउँदा घर परिवार तथा राष्ट्र नै बिग्रिएको देख्छु । 

पञ्चामृत, पञ्चजन्य, पञ्च भल, पञ्चभद्र, पञ्च नेत्रका मिश्रणबाट पञ्चायत बनेकाले पञ्चायती व्यवस्था राम्रो भएको सुन्नु हुने कार्कीले भन्नु भयो, पञ्चायती व्यवस्थामा सबैले इन्साफ पाउँथे । अहिले विकासको जग त त्यही बला बसेको हो । बोलीमा सत्यता थियो । 

अहिले पत्याउन गारो हुने जीवनका चाख लाग्दा कुरा सुनाउँदै उहाँले भन्नु भयो, २०११ सालमा १३ रुपियाँ तलब थियो । कपडा किन्न नसकेर सिर्फ लुकुनीका भरमा दिन बिताउने बेलामा पाएको पहिलो तलबले आमालाई कमलपोखरी फरिया र अरूलाई कपडा किनिदिएको थिएँ । अहिले जस्तो चार घण्टामा काठमाडौँ कहाँ पुगिन्थ्यो र दोलखादेखि सात दिन लगाएर खालि गोडाले पैदल हिँड्नु पर्दथ्यो । २१ वर्षको उमेरमा सेनाको जागिर पाएपछि मात्र जुत्ता लगाउन पाएको विगत सुनाउँदै उहाँले भन्नु भयो, पल्टनमा पसेपछि हेर्न पाएको ऐनाले अहिले पनि अचम्मित बनाइरहन्छ । धेरै पटक ऐना हेरेपछि मात्र आफ्नै अनुहार हो भन्ने विश्वास लागेको थियो । 

कार्कीका जीवनमा अरू फरक र रमाइला प्रसङ्ग पनि रहेका छन् । कार्की जुम्ल्याहाका राम र लक्ष्मणका दाजु हुनु हुन्छ । यी दुई जुम्ल्याहा दाजुभाइको एकै दिन धार्मिक कर्म विवाह व्रतबन्ध, पल्टनमा जागिर पनि भएको हो । जुम्ल्याहा दिदीबहिनीको पनि विवाह एकै दिन भएको थियो । कुल खर्च १२० रुपियाँ लागेको थियो । दाजुभाइले एकै दिन सेनामा जागिर खाए, हल्दार पदबाट एकै दिन अवकाश भए । सबै कुरामा एउटै साइत जुरेका भाइ लक्ष्मणको भने छ वर्षअघि देहावसान भएको हो ।