सन्तोष सुवेदी
कास्की, माघ २० गते । पोखरा उपत्यकामा रहेका सिमसार क्षेत्र मानवीय अतिक्रमणको चपेटामा परेका छन्। यस क्षेत्रमा बढ्दो अतिक्रमणले जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत हराउन थालेको छ। सिमसार क्षेत्रमा दिनप्रतिदिन घर तथा आवास निर्माण हुँदा चराले खाना पाउने ठाउँ घट्दै जाँदा सिमसार क्षेत्रभित्र चराका खाना अतिक्रमणमा परेका छन्।
वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा पोखरा उपत्यकाका तालमा अतिक्रमण, प्रदूषण र बाह्य मिचाहा प्रजातिको समस्या रहेको उल्लेख छ। पोखरा उपत्यकाका नौवटा ताल मानवीय अतिक्रमण, पहिरो, बाह्य मिचाहा प्रजाति, प्लास्टिकजन्य फोहोर तथा ढल मिसावटलगायतका समस्याको जोखिममा रहेको बताइएको छ। यस जिल्लामा सबैभन्दा उच्च जोखिममा फेवाताल छ। अतिक्रमणका कारण एक सय वर्षमा फेवा र रूपाको ५० प्रतिशत क्षेत्रफल र गहिराइ घटेको छ। विक्रम संवत् २०७२ मा विश्व सिमसार दिवसका अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको थियो।
नेपालको राष्ट्रिय सिमसार नीति–२०६९ मा सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र भनेर उल्लेख गरेको छ। ओसिलो, दलदले, पानी जमिरहने सिमसार क्षेत्र पानीको स्रोत भएको क्षेत्र मानिदै आएको छ। पर्यावरणीय दृष्टिकोणले सिमसारको ठूलो महत्त्व छ। सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु, चराचुरुङ्गीको बासस्थान र विविध वनस्पति उम्रने हुर्कने हुँदा सिमसार क्षेत्रलाई जैविकताको विशाल बजार पनि भनिने विज्ञहरू बताउँछन्। पोखरामा रहेका तालतलैयामा बाटो निर्माण र फुट ट्र्याक निर्माण गर्दा किनारा मासिँदै गएकाले दलदले लोप हुन थालेको छ।
चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समिति संयोजक पुण्य पौडेलका अनुसार, “सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ। जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोतसमेत प्रदान गर्छन्।
“पोखराआसपासमा सिमसार क्षेत्र मानवीय अतिक्रमणमा पर्दा यहाँको जैविक विविधता बिस्तारै परिवर्तन हुँदै गएको छ,’’ उहाँले भन्नुभयो। सिमासार क्षेत्रमा बढ्दो अतिक्रमणले जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत लोप हुन थालेका छ।