• ३१ असोज २०८२, शुक्रबार

वालिङमा नगर अस्पताल भवन निर्माण

blog

वालिङमा निर्माण गरिएको नगर अस्पताल भवन । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ(स्याङ्जा), असोज ३१ गते । वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको छ । 

वालिङ नगरपालिका-१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्धबाबा रुची जेभिीसँग १३ करोड लागतमा निर्माण गर्ने गरी गएको २०७८ असार ८ गते सम्झौता भएको निगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । 

दुई पटक म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि यही कात्तिक मसान्त सम्म पुर्‍याइएकाे थियो । कोभिडको महामारी,निर्माण सामाग्रीको अभाव,भवन निर्माण स्थलको जटिलताका कारण समय थप गर्नु परेको नगरपालिकाले जनाएको छ । 

स्थानीय विभिन्न व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन तथा अन्य आवश्यक संरचनाहरु निर्माण गरिएको रेग्मीले बताउनुभयो । तीन वटा ब्लकमा निर्माण गरिएको अस्पताल तत्कालको लागि १५ शैयाको हुने नगर प्रमुख कुष्ण खाँणले जानकारी दिनुभयो । अस्पताल भवन निर्माणका लागि २७ करोडको डिपिआर तयार भएको प्रमुख खाँणले बताउनु भयो । उहाँका अनुसार भवन निर्माण भए पनि कर्मचारी आवास गृह, बाउन्ड्री, निकास सडक र लिफ्ट लगायतका संरचना निर्माण गर्न बाँकी रहेको छ । 

नगर अस्पताल भवन निर्माण गरिएको ठाउँको जमिन भिरालो भएका कारण थप तीन करोड लगानी बढ्न पुगेको इन्जिनियर रेग्मीले बताउनुभयो । तत्कालीन केपी ओली सरकारले देशका विभिन्न पालिकामा एकै पटक सुरु गरेको नगर अस्पताल निर्माणको अभियान अन्तर्गत वालिङमा नगर अस्पताल भवनको निर्माण सुरु गरिएको हो । 

जिल्लामा नै धेरै जनसङ्ख्या बसोबास गर्ने वालिङमा सुविधा सम्पन्न भवनको अभाव रहेको छ । यहाँका नागरिक पोखरा तथा पाल्पा सम्म उपचारका लागि पुग्ने गरेका छन् ।