• १ कात्तिक २०८२, शनिबार

ओर्बानद्वारा पुटिनसँग हङ्गेरीमा हुने अमेरिका-रुस शिखर सम्मेलनबारे छलफलको घोषणा

blog

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान ।

बुडापेस्ट, असोज ३१ गते । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा आयोजना गर्न लागिएको अमेरिका-रुस शिखर सम्मेलन सम्बन्धमा छलफल गर्न शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणबारे आफ्नो पछिल्लो टिप्पणीका क्रममा दुई साताभित्र बुडापेस्टमा पुटिनसँग भेटघाट गर्ने अपेक्षा व्यक्त गर्नु भएको थियो । सो भेटले सम्भावित शान्ति सम्झौता तर्फको मार्ग खुल्ने आशा गरिएको छ ।

प्रधानमन्त्री ओर्बान युरोपेली सङ्घ (इयु) भित्र ट्रम्प र पुटिनका सबैभन्दा नजिकका सहयोगी मानिनुहुन्छ । उहाँले युक्रेनका लागि पश्चिमी मुलुकको समर्थनको बारम्बार आलोचना गर्दै आउनुभएको छ । “म आज बिहान दिउँसो अघि राष्ट्रपति पुटिनसँग कुरा गर्ने छु”, उहाँले शुक्रबार राज्य रेडियोसँगको अन्तर्वार्तामा भन्नुभयो ।

राष्ट्रवादी विचारधाराका नेताले बुडापेस्टलाई आज युरोपमा ‘शान्तिका लागि सम्भावनायुक्त एक मात्र ठाउँ’ का रूपमा चित्रित गर्नुभयो । उहाँका अनुसार हङ्गेरीले निरन्तर शान्तिपूर्ण नीति अपनाउँदै आएको छ र यही कारण यस्तो उच्चस्तरीय वार्ताको आयोजना गर्न उपयुक्त स्थल बनेको हो ।

तर बुडापेस्टलाई शिखर सम्मेलन स्थलका रूपमा छनोट गरिनुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा पुटिनमाथि जारी गरिएको गिरफ्तारी वारेन्टलाई बेवास्ता गरेको टिप्पणी पनि उब्जाएको छ । हङ्गेरीले आइसिसीबाट बाहिरिने घोषणा गरिसकेको भए पनि औपचारिक रूपमा सन् २०२६ सम्म अझै सदस्य राष्ट्र नै रहन्छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्टोले फेसबुकमार्फत बिहीबार राति अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउ र रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि वार्ता गरेको जानकारी दिनुभयो । सन् २०१० देखि सत्तामा रहनुभएका प्रधानमन्त्री ओर्बानले ९५ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई ‘विश्वसनीय र वफादार साझेदार’ का रूपमा वर्णन गर्दै हङ्गेरी सधैँ आफ्ना मित्र राष्ट्रको पक्षमा उभिएको दाबी गर्नुभयो ।

तर इयुका नेतामा ओर्बानको कदमले चिन्ता पैदा गरेको छ । उहाँले युक्रेनमा हतियार पठाउन अस्वीकार गर्दै इयुको एकतालाई कमजोर बनाउँदै आउनुभएको छ । साथै किएभको इयु सदस्यता प्रयासलाई निराश पार्दै र रूसमाथि कडा प्रतिबन्ध लगाउने प्रस्तावमा बारम्बार आपत्ति जनाउँदै आउनुभएको छ ।

गत जुलाईमा ओर्बानले इयुको घुम्ती अध्यक्षता ग्रहण गरेलगत्तै किएभ, मस्को र बेइजिङको भ्रमण गर्नुभएको थियो । सो क्रममा उहाँले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई समेत भेटी आफ्नो पहललाई ‘शान्ति मिसन’ का रूपमा चित्रण गर्नुभएको थियो । रासस/एएफपी