• १२ मंसिर २०८१, बुधबार

काल बन्यो भूतखोला

blog

रेखीराम राना

पाल्पा, माघ २० गते । विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ। तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ। 

भूतखोलामा रहेको पोखरी अवलोकन गर्न र पौडी खेल्न आउनेहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन्। स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो। यसले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जानेहरू ज्यान गुमाउन बाध्य छन् भने कतिपय मानिस तस्बिर खिच्नेक्रममा लडेर ज्यान गुमाउन बाध्य भएको तानसेनका स्थानीय शम्भु आचार्यले बताउनुभयो। 

भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि मानिसको क्रियाकलाप सुरक्षित गर्न आवश्यक उपाय अपनाउनुपर्ने आचार्यले बताउनुभयो। “हरेक वर्ष भूतखोलामा लडेर, पौडी खेलेर मानिसले ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो। मानिसको ज्यान लिने पनि पर्यटकीय स्थल हुन्छ ? उहाँले प्रश्न गर्दै भन्नुभयो, “पर्यटन क्षेत्र भन्दै सरकारले लगानी गरेको स्थान असुरक्षित बनेको छ। यहाँ घुम्न आउने पर्यटक असुरक्षित छन्।” भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन्। तर गर्मी सिजनका बेला कतिपय युवा यहाँ पौडिन जान मिल्ने सहज स्थान रहेकाले अकालमा ज्यान गुमाउनुपरेको प्रमोद सारूले बताउनुभयो। अहिले भूतखोला सामुदायिक वन उपभोक्ता समूहले यहाँ आउने पर्यटकलाई विभिन्न शीर्षकमा २० देखि दुई हजार रुपियाँसम्म शुल्क लिने गरेको छ। तर सुरक्षाको प्रबन्ध भने पर्यटकका लागि हुन नसकेको गुनासो छ । गत वर्ष लुम्बिनी प्रदेश सरकारले पार्क निर्माण गर्न २५ लाख रुपियाँ लगानी गरेको थियो। यस्तै तिनाउ गाउँपालिका र वन उपभोक्ता समूहले समेत यहाँ अध्ययन नै नगरी लगानी गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि भूतखोला क्षेत्रमा पटक–पटक आन्तरिक र बाह्य पर्यटकको ज्यान जाने गरेको जनाएको छ। “त्यस ठाउँमा मानिसको ज्यान जाने घटना दोहोरिरहन्छ,” पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “पर्यटन क्षेत्रमा काम गर्ने निकायले त्यसलाई सुरक्षित बनाउन जरुरी छ।”