• १२ मंसिर २०८१, बुधबार

विषादीले नदीका माछा मासिँदै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ २० गते । सिन्धुलीको दुधौली नगरपालिकाले कमला नदीमा विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जरिवानाको व्यवस्था गरेको छ । 

पछिल्लो समयमा नदीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसको अन्त्य गर्न विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपियाँसम्म जरिवाना र प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गरेको दुधौली नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार उक्त अभियान वडा नं. ६ बाट सुरु गरिएको छ । केही दिनअघि वडा समिति र सरोकारवालाको संयुक्त बैठकले त्यस्तो व्यवस्था गरेको वडाध्यक्ष कमानसिंह आलेमगरले जानकारी दिनुभयो ।

जिल्लाकै ठूला नदीनालामध्येको एक कमला नदीमा विषादी प्रयोग गरी माछा मार्दा भुरा माछासमेत मरेर लोप हुने खतरा बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “माछा त लोप हुने नै भयो । चराउन ल्याएका घरपालुवा पशुपन्छीले कमला नदीको पानी खाँदा पशुपन्छीको स्वास्थ्यमा समेत असर पुगेको छ ।”

पछिल्लो समय जिल्लाका कमला नदीसहित मरिण खोला, चँदाहा खोला, वाक्सु खोलालगायतका खोलामा विषादी हालेर माछा मार्ने चलन छ । विभिन्न खोलानालामा पाइने बुँदुना, कत्ले, हिले, असला, सहर, झिङ्गे आदि जातका माछा जथाभाबी विषादीको प्रयोगले सङ्कटमा परेको छ ।

मानव स्वास्थ्यका लागि समेत हानिकारक मानिएका ‘इन्डोसिल’लगायतका विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि यो समस्या आएको हो । कमला नदीमा माछा मार्ने मुख्य पेसा बनाएका दनुवार समुदायसमेत विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि चिन्तित देखिन्छन् । 

दुधौली नगरपालिका–२ निवासी कमैया कुँमरले भन्नुभयो, “केही वर्षपहिलेसम्म कमला नदीमा जाल लिएर जाँदा दुई चार किलो माछा मार्न धेरै समय नै लाग्दैनथ्यो । जालमा परेको मसिना भुरा नदीमा छाड्थ्यौँ, ठूला माछा लिएर घर आउथ्यौँ । अहिले त बिहानभरिमा पनि एक किलो माछा मार्न सकस पर्छ ।”

उहाँका अनुसार सुक्खा मौसम सुरु भएपछि कमला नदीमा पानी घट्दै जान्छ । त्यति बेला विषादी प्रयोग गरी माछा मार्ने धेरै हुन्छन् । विषादीको प्रयोगले खोलामा रहेका भुरा माछासमेत मर्ने भएकाले माछा नै मासिने खतरा बढेको छ । न्यून आय भएका विपन्न वर्गका व्यक्तिले जीविका चलाउन र कसै–कसैले शोखका लागि खोलामा इन्डोसिल नामक विषादी हालेर माछा मार्ने गरेका छन् । 

विषादी प्रयोग गरी माछा मारिरहे पनि कतै उजुरी परेको छैन । “गाउँघरमा एकको नाता अर्कोसँग गाँसिएको हुन्छ, एउटै समुदायमा बस्नुपर्छ । त्यसैले सबै व्यक्ति तैँ चुप–मै चुप गरी बस्दा त्यस्ता व्यक्तिले सजाय पाउन सकिरहेका छैनन्,” दुधौली नगरपालिका–६ निवासी जितबहादुर गोलेले सुनाउनुभयो ।