रमेश विश्वकर्मा
गुल्मी, वैशाख २८ गते । गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका भुवाचिदीका यमप्रसाद शर्माको छोरा १७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शर्मा अपराह्न करिब ४ बजेको समयमा सोही स्थानका यमबहादुर प्रसाईको छोरा १८ वर्षीय रोशन प्रसाई र वडा नम्बर ४ पाथिडाडा बस्ने भिमसेन थापाको छोरा १९ वर्षीय सविन थापासँग पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको कमान्डमा ६ जनाको टोलिले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्ररही निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।