गलकोट (बागलुङ),जेठ २४ गते । झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएका जस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै हुनुहुन्छ ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।
बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दै हुनुहुन्छ । उहाँहरू आफ्नो नाम लेख्न सक्षम हुनुभएको छ ।
खहरेको वसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना हुनुभएको छ ।
कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन् । १० जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उहाँहरू साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउनुहुन्छ ।
छपन्न वर्षमा कक्षा १ मा भर्ना हुनुभएकी खिमकुमारी कार्की गाउँमा प्रौढकक्षामा आफूले पढ्न नपाएको भए पनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताउनुहुन्छ । अहिले फोटो हेरेर फोन गर्छु उहाँले भन्नुभयो, अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ । किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उहाँ धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित हुनुहुन्छ ।
लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर सङ्कटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताउनुभयो । अक्षर नचिनेका आमाहरूलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउनुहुन्छ । बालशिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उहाँले जानकारी दिनुभयो । रासस