रमेश विश्वकर्मा
गुल्मी, जेठ २४ गते । गुल्मीमा विपद्का घटनाबाट दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ। यस जिल्लामा चालु आर्थिक वर्ष २०८१-०८२ को वैशाख मसान्तसम्म विपद्का घटनाबाट दुई करोड ५३ लाख ६७ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न २४३ वटा विपद्का घटना हुँदा मानिस सातको मृत्यु, १८ घाइते, चौपाया ६७ मृत्यु, २३ घाइते, घर ७५ र गोठ ५५ मा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । यस वर्ष विपद्का घटनामध्ये सबैभन्दा धेरै आगलागीका घटना भएको पाइएको छ। आगलागीका १०२ घटना हुँदा एक करोड ३४ लाख ५९ हजार रुपियाँ बराबरको क्षति भएको छ।
आगलागीका कारण मानिस एकको मृत्युु, सात घाइते, चौपाया ४७ मृत्यु, १७ घाइते, १४ घर र ३९ गोठमा क्षति भएको पाइएको हो। चट्याङका आठ घटनाबाट तीन लाख ३० रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ। चट्याङका कारण सात मानिस घाइते, चार चौपाया मृत्यु र तीन घरमा क्षति भएको हो ।
यस जिल्लामा बाढी र डुबानका १७ वटा घटना हुँदा १२ लाख रुपियाँको क्षति भएको छ । मानिस दुई मृत्यु, दुई घाइते, पशुचौपाया तीन मृत्यु, पाँच घाइते र दुई घरमा क्षति पुगेको हो । पहिरोका ७० वटा घटना हुँदा ३४ लाख ५० रुपियाँ बराबरको क्षति भएको छ। पहिरोका कारण मानिस पाँचको मृत्यु, दुई घाइते, चौपाया १८ मृत्यु, पाँच घाइते, घर १६ र गोठ आठमा क्षति भएको छ ।
त्यस्तै, अविरल वर्षाका १३ वटा घटना हुँदा २९ लाख रुपियाँ बराबरको क्षति भएको छ । पशुचौपाया १० मृत्यु, एक घाइते, घर आठ र गोठ ६ मा क्षति भएको छ। हावाहुरीका ४९ वटा घटना हुँदा ४० लाख २७ हजार रुपियाँ बराबरको क्षति भएको छ। यस जिल्लाका ३३ घर र आठ गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ।