रामकृष्ण बोहरा
बागलुङ, जेठ २४ गते । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ । सङ्घीय सरकारको ससर्त कार्यक्रम अनुसार नयाँ मौरी पकेट विकास कार्यक्रमअन्तर्गत लेखानीका ४३ जना कृषकलाई मौरीपालन सम्बन्धी तालिमसँगै ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो ।
संघिय सरकारको १२ लाख रुपियाँ सशर्त अनुदानमा ५० प्रतिशत अनुदानमा ४३ थान मौरीका गोलासहितको घार वितरण गरिएको गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले जानकारी दिनुभयो । मौरीपालन व्यवसाय सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएकाले कृषकलाई यो पेसामा आबद्ध गराउन पहल थालिएको उहाँको भनाइ थियो ।
लेखानी मौरीपालनको लागि उपयुक्त रहेकाले त्यहाँका कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिमसहित मौरीका घार वितरण गरिएको पालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बताउनुभयो । लेखानीका कृषक समुहमा आबद्ध रहेका कृषकलाई मौरीको घार वितरण गरिएको हो । काठेखोलाले मह उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अन्य वडाका कृषकलाई पनि मौरीघार वितरण गर्दै आएको छ ।
यस्तै, तमानखोला गाउँपालिकाले एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ । गाउँपालिकाले आयआर्जनसँग जोड्न २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्तयालले बताउनुभयो । तमानखोलाले निसीखोलाबाट ३ लाख रुपियाँमा घारसहितका मौरी खरिद गरी वितरण गरेको हो ।
एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले तालिममार्फत सिप सिकाएर मौरीसहितका घार वितरण गरिएको हो । तमानखोला मौरीपालनका लागि उपयुक्त भएकोले पहिलो चरणमा एक-एक घार उपलब्ध गराइएको र व्यवसायिक बन्दै गएमा थप सहयोग गर्ने गाउँपालिकाले योजना बनाएको उपाध्यक्ष छन्तयालले बताउनुभयो।
मौरीसहितको घार प्राप्त गरेपछि प्रसन्न हुँदै तमानखोला ६ की जसदेवी छन्त्यालले मौरीपालनलाई व्यवसायिक बनाएर परिवारको जिविकोपार्जन चलाउनुका साथै छोराछोरीको पढाई खर्च जुटाउने सोच बनाएको योजना सुनाउनुभयो ।