• २८ वैशाख २०८२, आइतबार

भारत र पाकिस्तानबिच युद्धविराम

blog

काठमाडौँ, वैशाख २८ गते । भारत–पाकिस्तानबिच ठुलो लडाइँको सम्भावना टरेको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको हो । 

भारतको विदेशमन्त्रालयले एक वक्तव्य जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी दुवैतर्फबाट कुनै पनि प्रकारको आक्रमण प्रत्याक्रमण नगर्ने सहमति भएको जानकारी दिएको छ । 

वक्तव्यमा भनिएको छ, “पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले आज (शनिबार) अपराह्न १५:३० बजे भारतका सैन्य अपरेसन महानिर्देशकसँग टेलिफोन वार्ता गर्नुभयो । दुवै पक्ष भारतीय मानक समय १७:०० बजेदेखि जमिन, हवाई तथा समुद्र सबैतर्फको गोलाबारी र सैन्य कारबाही बन्द गर्न सहमत भएका छन् ।” सहमतिलाई प्रभावकारी बनाउन दुवै पक्षका सैनिकलाई निर्देशन दिइएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । 

दुई देशका सैन्य अपरेसन महानिर्देशकबिच आउँदो सोमबार मध्याह्न १२ बजे दुई पक्षीय वार्ता गर्ने सहमति बनेको छ । कहाँ, कसरी वार्ता गर्ने भन्ने विषयमा भने दुई देशका सरकारको आपसी परामर्शमा तय गरिने जनाइएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, “अमेरिकाको मध्यस्थतामा गत रातभरि भएको कुराकानीपछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । आफ्नो उत्तम सोच र बौद्धिकता देखाएकोमा दुवै देशलाई बधाई छ ।”

भारत–पाकिस्तानबिचको मध्यस्थता गर्दा दुई पक्षका सरकारसँग शनिबार बिहान लामो वार्तालाप गरेको अमेरिकी विदेशमन्त्रालयले प्रस्ट पारेको छ । विदेशमन्त्रालयको प्रेस ब्रिफिङ अनुसार अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफ र भारतका विदेशमन्त्री एस. जयशङ्करसँग दुईपक्षीय युद्ध रोक्ने विषयमा वार्ता गर्नुभएको थियो । टेलिफोन वार्तामा तत्काल दुई देशबिचको तनाव कम गर्दै हिंसात्मक आक्रमण अन्त्य गर्न अनुरोध गर्नुभएको अमेरिकी विदेशमन्त्रालयले स्पष्ट पारेको छ । साथै दुई देशबिच शान्तिपूर्ण प्रत्यक्ष वार्ताका लागि अमेरिकाले समर्थन गर्ने उद्घोष गर्दै यसका लागि आवश्यक सञ्चार तथा कुराकानीमा सघाउने प्रतिबद्धता प्रकट गरेको छ । 

गत बुधबार भारतले पाकिस्तानमा आतङ्कवादीहरू रहेको ठानिएका स्थानमा अपरेसन सिन्दुरको घोषणासहित आक्रमण गरेपछि दुई देशबिच युद्धोन्मुख तनाव सिर्जना भएको थियो । त्यसअघि दुई साताअघि जम्मु काश्मीरको पहलगाममा पर्यटकहरूमाथि पाकिस्तान समर्थित आतङ्कवादीहरूले आक्रमण गरेको आरोप भारतले लगाएको थियो । उक्त घटनामा एक जना नेपालीसहित ३६ जनाको ज्यान गएको थियो । आक्रमणका क्रममा आमनागरिक, सैनिक र आतङ्कवादी समर्थितहरूको ज्यान गएको बताइएको छ । दुई देशबिच जारी आक्रमण प्रत्याक्रमणका कारण नेपालसहित विभिन्न मुलुकको पर्यटन, हवाई आवागमनसहित आयात निर्यातमा उच्च प्रभाव पर्न सुरु भएको थियो । यस युद्धविरामले भारत तथा पाकिस्तानमा रहेका नेपाली नागरिकले पनि राहतको महसुस गरेका छन् ।