नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो । श्रम मन्त्रालयका अनुसार रोमानियासँग भएको श्रम समझदारी नेपाली श्रमिकको हितलाई प्राथमिकतामा राखेर गरिएको छ । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको पनि छ । रोमानिया नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको र श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम क्षेत्रमा थप समझदारी भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स
राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सहअस्तित्व स्वीकार्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अपिल गर्नुभएको छ । जितिया पर्वका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । विज्ञप्तिमा विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भावै विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले प्रकृति पूजामा आधारित जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन प्रकरणका आरोपित २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १५ दिनको निरन्तरको सुनुवाइपछि शक्रबार थुनछेक आदेश गरेको हो । मैनालीको इजलासले मुद्दासाथ पेस भएका २६ मध्ये २५ लाई थुनामा पठाएको हो । विमानस्थल भन्सार एजेन्ट रक्मिाना सुब्बाबाहेक अन्यलाई थुनामा राख्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । सुब्बासँग पाँच लाख रुपियाँ धरौटी माग भएको छ ।
सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको हो। यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु भएको छ । महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मोहम्मदी अहिले तेहरानस्थित इभिन जेलमा हुनुहुन्छ । यो सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो ।
महिला सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । सञ्चार माध्यमले राजनीति पद र विवादित विषयलाई प्राथमिकतामा राख्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्नेगरेको उहाँहरुले गुनासो गर्नुभएको हो ।
काठमाडौं, असोज १९ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनु भएको हो । उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनु भयो । महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुराउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनु भयो । उहाँले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताउनु भयो । शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उहाँको भनाई छ । शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताउनु भयो ।महामन्त्री थापाले भन्नुभयो, ‘यो विधेयकको अन्तिम पृष्ठमा लेखिएको छ, यो विधेयक कानून बनेर कार्यान्वयन भइसके पछाडि संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा हुन्छ । संविधानले गरेको अपेक्षा भन्नासाथ संघीयताको कुरा आउँछ । पाठ्यक्रमको अपेक्षा भनेको ज्ञान प्राप्त गरेपछि उसले विवेचना गर्नसक्छ । २१ औं शताव्दीको युगमा ए.आई.रोवर्टीक्सको युगमा जानुपर्ने बेलामा विज्ञान, गणितको गहिरो संकट छ । कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छ, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छ । भन्नुको मतलव विद्यार्थी टिक्दैन । विज्ञान र गणितको सिकाई २८ मात्रै छ । अंग्रेजीको त करिव करिब २५ मात्रै छ । जो विद्यार्थी टिक्छ उसले सिक्दैन । नसिकेको हुनाले बिक्दैन । विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ । अर्थात् त्यहाँ भित्र प्रेरणा पनि छैन । ५० जना भन्दा कम विद्यार्थी भएको विद्यालय ६ हजार भन्दा बढी छ । विद्यार्थी र शिक्षक सम्पूर्ण रुपमा पुगेको विद्यालय संख्या ६ सय पनि पुग्दैन । यो खालको व्यवस्थापनको अवस्था छ । अपेक्षा, अवस्था दुईवटै कुरा नहेरीकन खण्ड खण्डमा हेरेर यो विधेयक आएको छ । अब यो संसदको काम हो, हाम्रो काम हो । यो समितिमा जान्छ आज । समितिमा गएपछि हामीले हतार नगरि काम गर्नुपर्नेछ । दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरुले जनतामा लैजानुपर्छ भन्नुभएको छ,समितिले पनि त्यो काम गर्नसक्छ । सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ । विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ । शिक्षण पेशालाई आकर्षक पेशा, मर्यादित पेशा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्नेछ । शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्नेछ । स्कुलको गभरनेन्सका बारेमा सच्याउनुपर्नेछ । स्थानीय सरकारको कुरा योसँग मिलाउनुपर्नेछ । विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको बताउनु भयो ।
गजेन्द्र गुरुङखजुरा, असोज १९ गते । धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थितीप्रति पूर्वस्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बद्ध पक्षसँग सामूहिक अपिल गर्नुभएको छ ।२०८० असोज १६ गतेको प्रदर्शनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच बिबाद सृजना हुँदा सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड तथा उच्छृङ्खल गतिविधी भएको र त्यसैका क्रममा केही सुरक्षाकर्मीसहित २२ जना घाइते समेत भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।पूर्वशान्ति समितिका संयोजकहरुद्धारा जारी अपिलमा नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक एक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उल्लेख गरिएको सन्दर्भमा सबै पक्षले यस संरक्षण एवं प्रवद्र्धन गर्न अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको वडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबै जात, जाती, धर्म, समुदायका नागरिकको कर्तव्य एवं दायित्व हुने भएकाले यसमा सबैले सकारात्मक भूमिका खेल्न अपिलमा गरेको छ।साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, सामाजिक सञ्जालमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामानै असर गर्ने खालका सामाग्रीहरु पोष्ट नगर्न, धार्मिक आस्थामा असर पर्ने गरी अमर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग नगर्न, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकार हनन नगर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेकोे छ । घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन र संयमता अपनाउन पूर्वस्थानीय शान्ति समितिले सबैमा अपिल गरेको छ ।
काठमाडौं, असोज १९ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पु¥याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ ।प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँनुहुदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकाले पनि विधेयक टुगोंमा पुरायाउने जिम्मा सांसद्हरुको रहेको बताउनुभएको हो । उहाँले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने बताउनु भयो । अहिलेको अवस्थामा समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताउनु भयो । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उहाँको भनाई छ ।सांसद पुनले भन्नुभयो, ‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपुराएको छ । सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार पनि गरिसकेको अवस्था छ । सबै माननीयले यसमा पर्याप्त काम गरौँ । संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्छ । समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी छ । त्यो भनेको वैज्ञानिक शिक्षाको कुरा हो । प्राविधिक शिक्षाको कुरा हो । देशभक्त नागरिक तयार गर्ने कुरा हो । त्यस अनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक छ । संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरु पनि उठेको छ । त्यसलाई संशाेधनमार्फत परिमार्जन गर्न सकिन्छ । शिक्षा राज्यको दायित्व हो । त्यसमा विभिन्न पक्षहरुसंग सहकार्य गरेर जानुपर्छ ।’ उहाँले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार हुने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले जताततै निरासाका कुराले पनि बजार बिग्रिएको दाबी गर्नुभयो ।
प्युठानमा जिल्लाकै ‘अग्लो र लामो’ पुल निर्माणको तयारी थालिएको छ । संघीय सरकारको लगानीमा गौमुखी गाउँपालिका –३, अर्खाको लामडाँडादेखि रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिएको हो ।
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ज्येष्ठ नागरिकहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते बन्नुभएको थियो ।