• २४ पुस २०८१, बुधबार

परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि

blog

राजधानीमा शुक्रबार आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समापन समारोहमा धनगढीसम्म रात्रिबस चलाउनुहुने चालक रेविका थापालाई सम्मान गरिँदै । तस्बिर : कविता थापा

काठमाडौँ, असोज २० गते । सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो । उहाँले परिमार्जनका लागि सो कार्यविधि मन्त्रीपरिषद्मा पेस गरिएको जानकारी दिनुभयो । शुक्रबार आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० को समापन समारोहमा प्रमुख जिल्ला अधिकारी बस्नेतले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “अति विशिष्ट र विशिष्ट व्यक्तिको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्ने गरी भिभिआइपीको भ्रमण गर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।” पछिल्लो चरणमा हाम्रा भिभिआइपीको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै न्यूनीकरण र सुधार्दै लगिएको बताउँदै उहाँले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसाधनमा नियन्त्रण गर्न सक्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले सडक सुधार र ट्राफिक व्यवस्थापनलाई विशेष महत्व दिएको बताउँदै अबको तीन महिनाभित्र महानगरपालिकाका मुख्य सडकमा सिसिटिभी र सडक बत्ती जडान गरिसक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार सिसीटिभी जडानका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भई काम अगाडि बढिसकेको छ । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड रुपियाँ विनियोजन गरेको छ । कामपा उपप्रमुख डङ्गोलले भन्नुभयो, “धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलोरहित सडकका लागि एक अर्ब रुपियाँको बोलपत्र अगाडि बढाइसकेका छौँ । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ ।” विद्युत् प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राखिदिएकाले पैदल यात्रीलाई असहज भएको उहाँको भनाइ थियो ।

‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने भनाइ उद्धृत गर्दै उहाँले सडक सुरक्षामा ट्राफिक प्रहरीको मात्र नभएर सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले आमनागरिकमा सडक सुरक्षासम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्न ट्राफिक सप्ताह सफल भएको बताउनुभयो ।