जानु पाण्डे
कपिलवस्तु, पुस २३ गते । लुम्बिनी प्रदेशमा दुध पाउडर बनाउने प्लान्ट नहुँदा डेरी व्यवसायीले समस्या खेप्नु परेको गुनासो गरेका छन् । नेपाल डेरी एसोसिएशन कपिलवस्तुको दोस्रो साधारणसभामा एसोसिएशनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले पाउडर प्लान्ट नभएको कारण बर्सेनी एक अर्ब रुपियाँको क्षति भएको बताउनुभयो ।
उत्पादन भएको दुधको ठुलो परिमाण उपयोग गर्न सकिएको छैन । प्रदेशमा दैनिक करिब १.५ लाख लिटर दुध उत्पादन हुन्छ । तीमध्ये ८० हजार लिटर दैनिक उपयोगविहीन बन्ने गरेको छ । बिक्री नभएको दुधलाई चितवन, विराटनगर पठाएर पाउडर बनाउनु पर्ने बाध्यता छ । जसलेगर्दा लागत अत्यधिक महँगो पर्ने हुँदा दुधको मूल्य उपभोक्ताको पहुँच बाहिर जाने स्थिति रहेको न्यौपानेको भनाइ थियो ।
डेरी व्यवसायीले प्रदेश सरकारसँग पाउडर प्लान्ट निर्माण गर्न ३० करोड रुपियाँको बजेट सुनिश्चित गर्न आग्रह गरे पनि सम्बोधन नभएको गुनासो रहेको छ । लुम्बिनी प्रदेशमा १५० साना ठुला डेरी उद्योगहरू सञ्चालनमा छन् । यी उद्योगहरूले दैनिक ५० हजार लिटर दुधबाट छुर्पी, घिउ, खुवा, र दही उत्पादन गर्दैआएका छन् ।
डेरी व्यवसायी सङ्घका अध्यक्ष हेमलाल पौडेलले पाउडर प्लान्टको अभावका कारण किसानहरू र उद्योगीहरू ठुलो सङ्कटमा परेको बताउनुभयो । दुध जोगाउन पाउडर प्लान्ट अत्यावश्यक रहेको र सरकारले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने व्यवसायीको माग छ ।