• २५ पुस २०८१, बिहिबार

राजेन्द्र ढकालको २६ औं स्मरण दिवस

राजेन्द्रको ज्याकेट सम्झिरहेको छु : प्रचण्ड

blog

राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ढकालकी पत्नी विमलादेवी घिमिरे (ढकाल) बिचमा ।

काठमाडौँ, पुस २४ गते। ‘राजेन्द्रको ज्याकेट सम्झिराखेको छु। उहाँले गरिरहेको तर्क सम्झिराखेको छु। एउटा बौद्धिक, तर्कशील युवा हुनुहुन्थ्यो’, राजेन्द्र ढकाल ‘चेतन’को २६ औं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो।

बुधबार बार एसोसिएसनको हलमा आयोजित राजेन्द्रको स्मरण दिवसको अवसरमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ मा प्रचण्डले चेतनको सम्झना यसरी गर्नुभएको हो। 

प्रचण्डका जस्तै राजेन्द्रसँगका कयौं सम्झना उहाँका परिवारका सदस्य र साथीभाइसँग छन्। तर, राज्यले बेपत्ता बनाएका राजेन्द्रको अवस्था आजसम्म अत्तोपत्तो छैन। परिवारका सदस्य श्रीमती विमलाले श्रीमान्, छोरी मञ्जिमा, ममता र छोरा विवेकले बुवाको खोजीमा जति आँसु बगाएर सङ्घर्ष गरे पनि राज्यले न्याय दिन सकेको छैन। 


तत्कालीन जिल्ला बारएसोसिएसन गोरखाका अध्यक्ष रहनुभएका ढकाललाई सुरक्षाकर्मीले २०५५ पुस २४ गते तनहुँबाट गिरफ्तार गरी बेपत्ता पारेका थिए। बेपत्ता यौद्धा ढकालकी श्रीमती विमलादेवी  घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण छोरी मञ्जिमा ढकालले गर्नुभएको थियो।

कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत उपस्थित हुनुहुन्थ्यो ।  पूर्व महान्यायाधीवक्ता तथा  पूर्व कानुनमन्त्री अग्नि खरेल, पूर्व कानुनमन्त्री गोबिन्द बन्दी, नेपाल बार एसोसिएसनका अध्यक्ष कृष्णगोपाल घिमिरे, अधिवक्ता एकराज भण्डारीसँगै देवि खड्का, रामकुमार भण्डारी र सुमन अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै बेपत्ता नागरिकमाथि राजनीतिक दाउपेच हुनु नहुनेमा जोड दिनुभएको छ ।  

बहुप्रतिभाका धनी व्यक्तित्व राजेन्द्र

साविकको हर्मी–८ गोरखा तथा हाल गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा बुवा कलाधर शर्मा र आमा प्रभादेवी ढकालको जेठो सन्तानको रूपमा २०२५ साल कात्तिक २८ गते ढकालको जन्म भएको थियो। 

संयुक्त जनमोर्चा, गोरखाको सचिव एवम् तत्कालीन नेकपा मशाल एकता केन्द्रका सदस्य, जिल्ला बारएसाेसिएसन, गोरखाका अध्यक्ष रहनुभएको उहाँ गायक, नृत्यकला तथा वाद्यवादनमा पनि उत्तिकै पोख्त अर्थात् बहुप्रतिभाका धनी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ उत्प्रेरणायुक्त स्पष्ट वक्ता, द्रव्यशाह बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभएका प्राज्ञिक व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्थ्यो।

 

कसरी बेपत्ता हुनुभयो ढकाल ?

२०५५ साल पुस २४ गते तनहुँको जामदी गाउँमा बन्द ढोकामा राजनीतिक चेतनामूलक कार्यक्रममा सहभागी भइरहेका बेला गस्तीमा खटिएका प्रहरी टोलीले ढकाललाई पक्राउ गरेको थियो।  

सोही क्रममा प्राथमिक विद्यालयका दुई शिक्षक पनि पक्राउ परेका थिए। र उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलचौतारा लगिएको थियो। तर, त्यो समय राजेन्द्र ढकाललाई अलग गरियो। उनै, दुई शिक्षकले ढकाललाई अन्तिम पटक देखेका थिए, जो दुई दिनपछि रिहा भए। त्यसयता उहाँको अवस्था अज्ञात छ।

२०५२ साल चैतमा ढकाललाई गैरकानुनी थुनामा राखेर त्यहाँका नेपाली प्रहरी कर्मचारीले दुर्व्यवहार गरी चार महिनापछि रिहा गरेका थिए। हिरासतमा लिँदै, अदालतमा मुद्दा दायर गर्दै, रिहा हुँदै उहाँ कयौं पटक गिरफ्तार पर्नुभयो।

नेपाल प्रहरीको बेल चौताराको प्रहरी चौकीबाट इन्स्पेक्टरको नेतृत्वमा गएको टुकडीले २०५५ साल पुस २४ गते (सन् १९९९ जनवरी ८ तारिख) मा उहाँलाई बेपत्ता पारेको थियो। 

खोजीको अविराम प्रयास 

सुरक्षाकर्मीले लगेकै दिनदेखि उनको परिवार र साथीभाइ उहाँ फर्किने बाटो हेरेर बसेका छन्। तर, २६ वर्ष पुग्दासम्म उनलाई देख्ने र भेट्ने कोही भेटिएका छैनन्। ढकाललाई खोज्न परिवार र आफन्तजनले धेरै कदम चालिसकेका छन्। 

उहाँ पक्राउ परेको केही दिनमै भाइ रविन्द्र ढकालले तनहुँ, नवलपरासी, पोखराको जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गण पोखरामा खोजी गर्नुभयो। तर, प्रहरीले राजेन्द्र पक्राउ गरेको नै अस्वीकार गरेको थियो।  

जिल्ला प्रहरी कार्यालय, गोरखाका अधिकारीले राजेन्द्र आफ्नो हिरासतमा रहेको तर भाइ रविन्द्रले भेट्न नपाएको बताएका थिए। त्यसयता, उहाँको बारेमा जानकारी समेत अज्ञात रहेको परिवारले बताएको छ। तर, परिवारले खोज्न भने छोडेको छैन।

२०५५ साल माघ ७ गते भाइ रविन्द्रले सर्वोच्च अदालतसमक्ष बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभयो। अदालतले ढकाल कहाँ छन् भन्ने किसिमको तत्तत निकायलाई जानकारी बुझाउन आदेश दिएको थियो।

ढकालप्रति नराम्रो व्यवहार गरेका अधिकारीले ढकालको हिरासत एवम् गैरकानुनी थुनामा संलग्नता रहेको इन्कार गरे। सर्वोच्चले सन् २००७ को फैसलालाई उद्धृत गर्दै बेपत्ता घटनाको छानबिन गर्न छुट्टै आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको थियो।

देशभर १३ सय २८ नागरिक बेपत्ता

रेडक्रस अन्तर्राष्ट्रिय कमिटी (आइसिआरसी)को तथ्याङ्क अनुसार २०५२ देखि २०६२ सम्म चलेको दस वर्षे जनयुद्धमा देशभरबाट जम्मा १३ सय २८ नागरिक बेपत्ता भएका छन्। जसमध्ये एक हजार ९६ जना राज्यबाट र २३२ जना माओवादी तथा अन्य पक्षबाट बेपत्ता भएको बताइएको छ। 

राज्यका तर्फबाट २०६३ साल मङ्सिर ७ गते भएको बृहत् शान्ति सम्झौतामा बेपत्ताको स्थिति सार्वजनिक गर्ने सम्झौता भयो।  

२०६४ साल जेठ १८ गते राजेन्द्रप्रसाद ढकाल, बिपिन भण्डारी, चक्रबहादुर कटुवाल र दिलबहादुर राईको मुद्दामा फैसला गर्दै बेपत्ता नागरिकको छानबिन गर्न एउटा निष्पक्ष र शक्तिशाली आयोग गठन गर्न आदेश भयो। 

फैसला अनुरूप २०७१ सालमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा जम्मा ३३ सय उजुरी परे। आयोगका पहिलो अध्यक्ष लोकेन्द्र मल्लिक (२०७१–२०७६), दोस्रो अध्यक्ष युवराज सुवेदी (२०७६/२०७८) सम्म निवेदन सङ्कलन मात्र भयो। 

सो अवधिमा कुनै पनि मुद्दामा अनुसन्धान अगाडि बढ्न सकेन र हाल आयोग पदाधिकारीविहीन रहेको अवस्थामा गुज्रिरहेको छ।