गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २३ गते। इन्दिरा आइभिएफ नेपाल सेन्टरले पहिलो बार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा सेन्टरले बार्षिकोत्सव मनाएको हो । प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारीले निसन्तान दम्पत्तीका लागि आइभिएफ सेन्टर बरदान भइरहेको बताउनुभयो ।
उहाँले आइभिएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष लग्ने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गर्नुभयो । इन्दिरा आइभिएफका संस्थापक डा. अजय मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म एक लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताउनुभयो । उहाँले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ट सेवा दिइरहेको बताउनुभयो ।
इन्दिरा आइभिएफ नेपालकी प्रमुख डा. नेहा होमगाईले औसत रुपमा ७७ प्रतिशत बढी सफलता मिलेको बताउनुभयो । उहाँका अनुसार केन्द्रमा पछिल्लो महिना भने लगभग शतप्रतिशत आइभीएफ सफल भएका थिए । केन्द्रमा गरिएको गर्भाधानबाट धेरै दम्पत्तिले सन्तान प्राप्त गरिसकेको उहाँको भनाइ छ । उहाँले नेपालमा मात्र नभई विदेशबाट पनि आइभिएफका लागि मानिसहरु आउनेगरेको बताउनुभयो । उहाँले दुई हजारभन्दा बढी दम्पतिलाई सेवा प्रदान गरेको बताउनुभयो ।