राजकुमार भट्टराई
खोटाङ, असार १५ गते । पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो ।
बर्खा लागेसँगै हौँचुर खोला अर्थात् लोचा खोलामा पानीको बहाव बढेपछि मोटरसाइकल वारपार गराउन कठिन हुन थालेको छ । उक्त समस्यालाई दृष्टिगत गर्दै श्रमदान गरी अस्थायी काठेपुल निर्माण गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो ।
मानिस वारपार गर्न भने सडकभन्दा केही माथि झोलुङ्गे पुल छ । सडकबाट झोलुङ्गे पुल टाढा रहेकाले मोटरसाइकल खोलाबाटै तार्नुपर्ने समस्या छ । जसकारण मोटरसाइकल वारपार गराउन काठे पुल निर्माण गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
श्रमदानमा गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडाध्यक्ष कार्कीसँगै पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र हौँचुरका युवाहरुको उपस्थिति थियो । श्रमदानबाट काठे पुल निर्माण भएसँगै मोटसाइकल वारपार गराउन र मानिस पनि वारपार गर्न सहज भएको स्थानीयले बताएका छन् । अघिल्लो वर्ष पनि स्थानीयले श्रमदान गरेर लोचा खोलामा काठे पुल निर्माण गरेका थिए ।
हरेक वर्ष बर्खा लागेसँगै पानीको बहाव बढ्दा लोचा खोलाले दुःख दिने गरेको छ । उक्त खोलामा मोटरेबल पुल निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षे योजनामा समावेश गरेको छ । कोशी प्रदेश सरकारबाट ५ करोड ११ लाख ४६ हजार बजेटको स्रोत सुनिश्चित भइसकेको छ ।
असार महिनाभित्र पुल निर्माणको लागि ठेक्का खुल्ने भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले बताउनुभएको छ । मोटरेबल पुल निर्माणपश्चात् लोचा खोलाले यात्रुलाई दुःख दिने छैन ।