काठमाडौँ, पुस २४ गते । कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको छ ।
सचिवालयको बुधबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो । चैत ३० गतेसम्म चल्ने प्रतियोगितामा ३६ खेल समावेश गरिने प्रारम्भिक छलफल भएको सचिवालय उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले जानकारी दिनुभयो ।
‘‘प्रतियोगिताका लागि बनेको कार्यविधि युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। त्यसपछि कानुन मन्त्रालयमा गएर चाँडै पारित गरिने र १०औँ का लागि ठेक्का तथा खरिद प्रक्रिया सुरु हुनेछ । प्रतियोगिताका लागि ६० करोड रुपियाँ बजेट यस अघिनै पाउने सुनिश्चित भएको छ,’’ मन्त्री चौधरीले भन्नुभयो ।
प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार, बसोवासका लागि होटल, यातायात, सडक, शान्ति सुरक्षा, अस्पतालजस्ता विषयको अनुगमन गर्न राखेपका प्रतिनिधि कर्णाली जाने पनि मन्त्री चौधरीले बताउनुभयो ।
कर्णाली प्रदेशमा २४ वटा खेलमात्र सञ्चालन गर्न सकिने बुझिएकोले बाँकी खेलहरू नेपालगन्ज र काठमाडौँमा गरिन सकिने बताइएको छ । प्रतियोगितामा टिम, खेलाडी, पदक, पुरस्कार, उद्घाटन, समापनलगायत विभिन्न विषयमा आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले निर्णय गर्ने बताइएको छ ।
१०औँ राष्ट्रिय खेलकुदको आयोजनाका लागि तयारी सुरु गरिएकोले यसलाई विगतको भन्दा सभ्य र भव्य बनाइने राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो ।