सञ्चो छैन । पटक्कै सञ्चो छैन आज । टाउको भारी छ, फुट्ला जस्तो । त्यसमाथि वाकवाकी लाग्ने । यसो हलचल गर्दा पनि रिँगटा लागिहाल्ने । खालि पल्टिरहन, सुतिरहन मन लाग्ने । यस्तो भइरहन्छ मलाई । समय समयमा यस्तो भइरहन्छ ।
कोठामा म । एक्लै । खाटमाथि पल्टिरहेको छु । आँखा दलिनतिर केन्द्रित छन् । निद छैन आँखामा । झ्याल बन्द गरेको छु र पर्दा खसालेको छु । झ्यालबाहिरका दृश्य अगोचर छन् । व्याप्त छ अन्धकार । मनमा अनेक तर्कना उम्लिरहेका छन् । तिनलाई सम्हाल्न सकिरहेको छैन । मेरो दाजुको विवाह भइसक्यो । लगभग बिस वर्षअघि नै । भाउजू छिन् । उनीहरूको एउटै मात्र छोरो छ, मेरो भतिजो । कलेजमा पढ्ने भइसक्यो । केटो मायालाग्दो छ । तर उसकी आमा, मेरी भाउजू ठिक छैनन् मेरा लागि । हामीबिच त्यति मिलजुल छैन । बोलचालसमेत हुँदैन वास्तवमा ।
दाजुपछिको म । माहिलो । एकल । भुतुङ्गो छु । विवाह गरेको छैन । कारणहरू अनेक छन् । के गर्नु, विवाह गर्न त मनलाग्छ । तर....
हाम्रा बाबुआमाहरू मास छर्न गइसके । उहिल्यै । करिब दस वर्षअगाडि । अहिले उनीहरू केवल सम्झनामा छन् ।
बाबुको सानो जागिर थियोे । आमाको केही थिएन । हाम्रो पसल पनि थियो । पसलमा बिहान बेलुका बाबु बस्नुहुन्थ्यो । दिनभरि हामी बस्थ्यौँ । त्यो त्यति चल्ने खालको
भने थिएन ।
मेरी बहिनीको पनि विवाह भइसक्यो । ज्वाइँ असाध्यै सिधासादा छन् । कुनै लपनछपन छैन । काम गरिखान्छन् । उनीहरूको पनि एउटी छोरी छिन् । अत्यन्त हिसिपरेकी, छुनुमुने, फुच्ची, बोकुँ बोकुँ लाग्ने ।
मेरी भान्जी ।
बहिनीपछिका दुई भाइ छन् । केही समयअघि मात्र उनीहरू दुई जनाकै पालैपालो बिहे भयो । दुई वटै बुहारी सँगै छन् । भिन्न भएका छैनन् । उनीहरूले मलाई अनादर गरेका छैनन् अहिलेसम्म ।
केहीबेर पसलमा बसेँ । कच्याककुचुक बेचेँ । गोजीमा चुरोट एक खिल्ली लुकाएँ । भाइ आइपुग्यो । उसलाई पसल जिम्मा लगाएर म घरपछाडि गएँ । हतारिएर पाइखानामा पसेँ । छिनमै हलुका भएर निस्केँ । पछि मटानमा उक्लेँ । क्षणभर सुस्ताएँ । खाना खान बुइगलमा गएँ । आफैँ पस्केर खाएँ । अनि, कोठामा फर्कें । “कति मात्र सुत्न सक्या ! केही काम गर्नु छैन । खालि घिच्यो, पल्ट्यो ।” भाउजूको फतफताइले मेरो तन्द्रा टुटेको छ । पक्कै मलाई सुनाएकी हो । रिस नउठेको होइन तैपनि सहेको छु । जवाफ दिएको छैन आजसम्म । मनभरि प्रतिव्रिmया नभएका होइनन् । मुख खोल्दिनँ । तनभरि कामजरो छ । हलचल गर्दिनँ । एकतमास सोचिरहेको छु । अरू केही गर्न सकेको छैन ।
कति थुनिएर बस्नु कोठामा । वाक्कदिक्क लाग्छ । बच्चैदेखि एक्लो परेको मान्छे म, अहिलेसम्म एक्लै छु । साथीहीन छु । र उपायहीन पनि ।
“तँ बौलाएकै होस् । झ्यालमा उँधोमुन्टो लाएर झुन्डिस् । तँलाई बाँच्न मनलाग्या छैन । मर्न चाहेको हो तैँले ?” दाजु मसँग रिसाएर कराइरहेको थियोे । म भने चुपचाप थिएँ । खासमा मलाई होसै थिएन । यो धेरै अघिको घटना थियो ।
“तँलाई मर्नै मन लागेको हो भने जा परको त्यो इनारमा हाम्फालेर मर्, जा ! कि बागमतीमा अहिले बाढी आइरहेको छ, त्यहीँ फाल हान्, जा !” दाजुको रिस चर्काे थियो । वचनवाण तिखो थियो । रिसले म धेरै चोटि डामिएको छु । वाणले घोचिएको छु । सख्त घाइते भएको छु । तर मर्न सकेको छैन ।
एक दिन भाइले भन्दै थियोे, “हामीले तिमीलाई मन्दिरबाट उठाएर ल्याएका थियौँ । तिमी त्यहाँ बेहोस पल्टेका थियौ । मुखभरि ¥याल काढेर छटपटाइरहेका थियौ । मान्छेहरूको हुल थियोे । तिमीलाई एक्लै टाढा नजानु भन्या होइन ? हुलमुलमा नजानु भन्या होइन ? मान्ने होइन । कति सम्झाउनु !”
हो, मलाई मान्छेहरूको भिड देख्न हुन्न । कुनै गाढा रङ देख्न हुन्न । भाउन्न भइहाल्छ । सबै चिज घुम्न थाल्छन् । अँध्यारोले छोप्छ । केही देख्दिनँ । ढलिहाल्छु । सानै उमेरदेखि हुनथालेको हो यस्तो ।
दाजु मास्टरी गर्छन् र भाउजू पनि । दुवै जनाको कमाइ पुग्दो छ । बहिनी आफ्नै घरमा सन्तुष्ट छिन् । भाइहरू पनि यताउता गर्छन् । मजाले कमाउँछन् । बुहारीहरू पनि टाकनटुकन गर्छन् । म मात्र... हामीबिच ठाकठुक त परिरहन्छ । यद्यपि हामी संयुक्त परिवारमा छौँ ।
कति कुरा खेलाएर बस्नु मनमा ! सबै बेकारका कुरा हुन् । सुतेको छु । निदाउन खोज्छु तर निद्रा लाग्दैन । के गर्दा निद्रा लाग्छ, थाहा छैन । दलिन गन्छु । तकिया मिलाउँछु । सिरक तानेर ओढ्छु । आँखा चिम्लन्छु । चिम्लिरहन्छु ।
एउटै टोल । झन् छिमेकी नै । बेखामान साहु । ठुलो किराना पसलका मालिक । एउटी श्रीमती, एउटा छोरा र एउटी छोरीका अभिभावक । उनकी श्रीमती घरायसी एवं पसलको काममा यथोचित सहयोग गर्छिन् । छोरा आवारागर्दी गरेर हिँड्नमै व्यस्त रहन्छ । छोरी नखरमाउली, चमकदमक देखाएर घुम्नमा अभ्यस्त छिन् । यिनी म पसलमा रहँदा बेलामौकामा जिस्किन आइरहन्छिन् । यद्यपि म तरुनीहरूसित जिस्किन जान्दिनँ । लाटो छु । उनीहरूका बोलीचाली तथा हाउभाउ बुझ्छु, तैपनि म केही भन्न र गर्न सक्दिनँ ।
साहुकी छोरी आइन् । मेरोसामु टुसुक्क बसिन् । छिल्लिएर हाँसिन् । के के भनिन् । म अवाक् रहेँ । उनी हाँसिरहिन् । जिस्किइरहिन् । मेरो पालो, उनीलाई च्याप्प समातेँ । अँठ्याइदिएँ । उनीले कुनै प्रतिव्रिmया जनाइनन् । केवल मुस्काइरहिन् । यसो अँगालो मारेर म्वाई खान खोजेको त, पछाडिबाट कसैले मेरो कठालो समातेर तानिहाल्यो । म डराइहालेँ । बक फुटेन । सर्वाङ्ग भिजेँ । पछि झल्याँस्स बिउँझेँ । ज्या, सपना पो देखेको रहेछु ! दिउँसै ।
खाटबाट ओर्लें । झ्याल खोलेँ । पर्दा हटाएँ । घरबाहिर अन्धकार छ । फाट्टफुट्ट बत्ती बलेका छन् । मानिसको आउजाउ पातलो छ । नजिकका देवलबाट घण्टी बजेका आवाज आइरहेका छन् ।
कोठा बन्द गरेर निस्केँ । जिउ शिथिल छ । कुनै काम कुरा गर्ने जाँगर छैन । सुस्तरी भरेङबाट तल छिँडीमा झरेँ । अँध्यारोमा छामछाम छुमछुम गरेँ ।
भित्तो छाम्दै अघि सरेँ । बाहिर निस्कने ढोकाको छेवैमा पुगेपछि अडेँ । बत्ती बालेँ । छिँडीभरिको परिवेश उज्यालियो । मेरा तनमन पनि उज्यालिए ।
हठात् पाइखानामा पसेँ । छिनमै निवृत्त भएँ । हातमुख धोएँ । अनि तत्काल बाहिरिएँ ।
यतिखेर म पसलमा छु । साथमा सानो भाइ छ । बुहारी पनि छिन् । मलाई देखेर होला सायद, यी भाइबुहारी दुवै मुख फुलाएर बसेका छन् । कुरा गर्दैनन् । चुपचाप । भित्रभित्रै रिसाएका होलान् ।
एकछिनपछि बुहारी निस्किइन्, सँगसँगै भाइ पनि । पसलमा म एक्लो परेको छु । केही छैन ।
एउटा ग्राहक आइपुग्छ । ऊ बोल्छ, “साहुजी, हरियो मलहम छ ?”
म भन्छु, “छ ।”
“यो घाउमा लगाउने हो ?” उसको प्रश्नमा म बोल्छु, “हो नि, यसले घाउ च्वाट्टै निको पार्छ ।”
“दिनोस् !”
उसलाई मलहम पोको पारेर दिन्छु ।
ऊ पुनः बोल्छ, “शिलाजित पनि छ त ?”
“छ ।”
म “अलिकति दिनोस् न ! ढाड दुखेर हैरान भो । अलि बलियो हुनुप¥यो, स्वास्नी भाग्लिन् भन्ने डर के !” ऊ हाँसिरहेकै छ । म उसलाई शिलाजित दिँदै भन्छु, “दुधसँग मिसाएर खानू !” ऊ पैसा तिरेर जान्छ । म मनमनै बरबराउँछु– स्वास्नी हुनेलाई भाग्लिन् भन्ने डर, म जस्तो कोही नहुने भुतुङ्गोलाई केहीको डरभर छैन । आनन्दै !
कल्याङमल्याङ छ सडकमा । छेउछाउका घरहरू र त्यहाँ अवस्थित पसलहरू शून्यप्रायः छन् । बरु गल्ली कुकुरको चुरीफुरी छ ।
–“तारेमाम, माधव साहु !”
–“तारेमाम !”
–“के छ हालखबर ?”
–“ठिक छ, तिम्रो ?”
–“ठिकै ।”
यिनी मेरा बालसखा, राजमानचा । मसित एकदमै हित्तचित्त मिल्ने । यिनीलाई भेट्यो वा देख्यो कि पुराना ती दिन याद हुने । ती दिनका सम्पूर्ण कुरा सम्झिने भन्या ! अहिले त यिनी विदेशमा बस्छन् क्यार ! कहिलेकाहीँ पसलमा आउँछन्, यसो गफसफ गर्छन् र गइहाल्छन् । खुब पढेका छन् । काम गरेका छन् । पैसा पनि मनग्गे कमाएका छन् । तर पनि, घमण्डी छैनन् ।
एक दिन हामी दुई बागमतीमा माछा मार्न गएका थियौँ । बल्छीमा गँड्यौला उनेर पानीमा फाल्ने चलन थियोे । माछा बल्छीमा अल्झिएपछि माथि तान्थ्यौँ । त्यस दिन हामीले थुप्रै माछा मारेका थियौँ । घर फर्किंदा साँझ परिसकेको थियो । माछा पोको पारेको झोला नजिकैको झाडीमा लुकाएर हामी आआफ्ना घर फर्केका थियौँ । घरमा गाली र पिटाइ खानु नपरोस् भनेर यसो गरेका थियौँ ।
भोलिपल्ट बिहान त्यो झाडीमा जाँदा माछाको पोको थिएन । पोको कसले उडायो, थाहा भएन । सायद कुकुरले तानेर लग्यो कि !
कुनै अर्काे दिन । हामी गौरीघाटमा पौडी खेलिरहेका थियौँ । बागमतीमा बाढी उर्लिएको थियो । पौडिइरहेकै थियौँ । अचानक हामीलाई बगायो । हामी उत्रिन सकेनौँ । आत्तियौँ । करायौँ । कसैले बचाउन आएनन् । बग्दाबग्दै तल आर्यघाटमा पुगेपछि मात्र किनारामा निस्किन सक्यौँ । पानी धेरै पिएर भुँडी टुन्न भइसकेको थियोे । धन्न बाँच्यौँ । त्यतिबेलाको कुरा सम्झिँदा अहिले पनि जिउ सिरिङ्ङ हुन्छ ।
“माधव, हिङ गोली छ ?” टोलका चन्द्रमान काकाले सोधे । जवाफमा मैले हाँसेर भनेँ, “छ, कति रुपियाँको दिऊँ ?” “एक दुई वटा देऊ न, यसो मुखमा हाल्न ।”
दुई वटा गोली दिएँ ।
पैसा नदिईकन गए । साह्रै लोभी छन् । लाजशरम
पचेका । त्यत्रो सम्पत्ति छ । दुई जना बुढाबुढी मात्र । सन्तान छैन । तैपनि मक्खीचुस ।
भित्तेघडी टाङटाङ बज्यो । अल्छीलाग्दो । हेर्छु । बेलुकीको नौ बज्या रैछ । पसल बन्द गर्नुपर्ने । एक्लैले थुन्न सक्दिनँ, के गरूँ !
भाइ आइपुगेको छैन । न बुहारी नै आउँछिन् । रिस उठ्दो छ । भोक लागिसक्यो । उनीहरू मजाले खाईपिई आआफ्ना कोठाभित्र पसिसकेका होलान् । म भने..
एउटा मान्छे ढलमलिँदै आइपुगेको छ । टोलकै नामुद रक्स्याहा, सोमे । दिनभरि ट्याक्सी चलाउँछ, र साँझ परेपछि हल्लनदास । अनर्गल बकिरहन्छ । वास्ता गर्दिनँ । घर पुगेपछि स्वास्नीसँग रडाको मच्चाउँछ ।
–माधव, बिहे गर्ने होइन ?
–हो, केटी पाए पो !
–किन नपाउनु, जत्ति पनि पाइन्छ । म खोजिदिऊँ ?
–हुन्छ ।
–कोही नपाए, मेरी स्वास्नी नै दिऊँला । हुन्न ?
–.............।
म केही बोल्दिनँ । यस्तो बकम्फुसेसँग के बोल्नु !
हतारहतार पसल बन्द गर्नतिर लाग्छु । सामान यताउता राखनधरन गर्छु । पैसा बटुल्छु । एउटा भाइ आइपुग्छ । सहयोग गर्छ ।
घरभित्र पस्दा दस बजिसकेको हुन्छ । सिधै बुइगलमा उक्लिन्छु । भान्सामा पस्छु । हातमुख धुन्छु । पकाएर राखिएका खानेकुरा पस्कन्छु । खान थाल्छु । छिनमै खाइभ्याउँछु । तल झर्छु । आफ्नो कोठामा पस्छु । कपडा फेर्छु । पाइखाना जान छिँडीमा ओर्लिन्छु । हल्का भएर माथि कोठामा उक्लिन्छु । पसेर कोठामा खाटमाथि लम्पसार पर्छु । आँखा चिम्लिहाल्छु ।
आँखा खुले । सखारै चाहिँ होइन । घाम छिप्पिइसकेको छ । झ्याल खोलेँ । पर्दा पनि उघारेँ । एकफेर बाहिर हेरेँ । सडकमा मानिसहरूको आवतजावत कम छ । सबै आआफ्ना काममा व्यस्त छन् । परको एउटा घरको आँगनमा मान्छेको घुँइचो देखिन्छ । कोलाहल सुनिन्छ । किन होला, मनमा कुतूहल जाग्छ । तत्काल लुगा लगाएर म सडकमा झर्छु । फटाफट त्यस घरतर्फ लाग्छु । घरको वरिपरि भिडमभिड । अनेक आवाजको कोलाज । कङ्कला स्वरमा कसैको रोदन । प्रहरीहरूको पनि उपस्थिति । म भिडको पछिल्तिर गएर उभिन्छु । कुरा सुन्छु । त्यस घरकी एउटी चेलीले छिँडीको सिलिङमा झुन्डिएर आत्महत्या गरेकी रहिछन् रातिको समयमा । कसैले पनि सुइँको पाएनछन् । लामो सुसाइड नोट पनि लेखेर छोडेकी छिन् रे । बिचरी !
मलाई बस्न मन लागेन त्यहाँ । लगत्तै फर्किहालेँ ।
घर । उही हाम्रो घर । किन हो, घर घर जस्तो लाग्दैन । मसान जस्तो लाग्छ । यहाँका मानिस मानिस जस्ता लाग्दैनन् । मुर्कट्टा जस्ता लाग्छन् ।
यो घर ढले हुन्थ्यो, यहाँका मानिस मरे हुन्थ्यो– यस्तै लाग्छ मलाई । निरस छ जिन्दगी । आजको दिन पनि उराँठ र उदास बित्ला जस्तो छ ।
कोठाबाट बाहिर निस्केको मात्र, भाउजूसित जम्काभेट भयो । मैले सिधा हेरिनँ । उनीले मलाई आँखा तरेर हेरिन् । मुख पनि चलाइन् । पछि फतफताएर गइन् । सहेरै बसेँ म ।
पेट दुख्यो । हतारै भयो । छिँडीमा झरेँ । पाइखानामा पसेँ । निकैबेर बसिरहेँ । ढोकामा कसैले ढकढकाएको सुनेँ । हठात् उठेँ, र निस्केँ ।
धारातिर गएँ । हातमुख धोएँ । खुट्टा पखालेँ । दाँत
माझेँ । फेरि एक चोटि हात धोएँ, र रुमालले पुछपाछ गरी घरबाहिर आएँ ।
अब म यो घरमा केही गर्दिनँ । केही पनि खाँदिनँ । बस्दा पनि बस्दिनँ । एक बस्दिनँ, दुई बस्दिनँ । बरु कतै जान्छु ।
यतिखेर म आर्यघाटमा छु । यद्यपि यहाँ मानिस मृत्युका लागि आउँछन्, मृतकका लागि आउँछन् । मलामी आउँछन् । मरणका निम्ति हो यो स्थान, जीवनका निम्ति होइन । तथापि म यहाँ मर्नका लागि कदापि आएको होइन । फगत विरक्ति भगाउन सुमधुर जीवन सङ्गीत पनि सुन्न पाइन्छ कि भनेर आएको हुँ ।
पशुपति मन्दिर स्थिर छ । अन्य देवालय पनि सम्पूर्णतः मौन छन् । श्लेषमान्तक वन मुक छ । रुखहरू चञ्चल छन् । बाँदरहरू उग्र छन् । बागमती अविरल बगिरहेको छ । चिताहरू जलिरहेका छन् अर्थात् चितामाथिका लासहरू जलिरहेका छन् । मानिसहरू कोही निन्याउरा छन्, त कोही हँसिला पनि छन् । वातावरण निस्तब्ध छ । जे होस्, जीवन गतिशील नै छ ।