• २८ असार २०८२, शनिबार

बेपर्बाह [कथा]

blog

“अ, साँच्चै ! माड्साबका छोराहरू पनि छुट्टिएछन् है !” परबाट आउँदै गरेका होतराजले मतर्फ हेर्दै यति भनेको सुन्दा मेरो मन फेरि एक तमासको भयो । मलाई नै भनेको भनेर बुझ्न मलाई कुनै कठिनाइ भएन । कतै पनि नभनेको विषय पनि कति छिटो गाउँभरि फैलिइसकेछ ? छोराहरू छुट्टिएको कुरा एकदिन त सबैलाई थाहा हुने नै थियो तर यति छिटो सबैले थाहा पाउलान् भन्ने कुरा मैले पनि ख्याल गरेको रहेनछु । मलाई तत्काल केही भनिहाल्न मन लागेन उनलाई । वरपिपलको चौतारीमा सिर सिर बतास चलिरहेको भए पनि मेरो मन भित्रैदेखि भत भत पोलिरहेको थियोे । मनभित्रको उकुसमुकुस कम हुन्छ कि भनेर म अहिले यस चौतारोमा निस्केको थिएँ । मनको आकाशमा उदासीको बादल मडारिइरहेको थियो । मनलाई सान्त्वना दिन पनि मलाई अचेल एकान्त मन पर्न थालेको थियो तर एकान्त पाउनु कसरी ? जता गए पनि जता बसे पनि कसै न कसैले मलाई देखिहाल्थे । बोल्न आइहाल्थे । सकेसम्म कसैसँग भेट्नु, बोल्नु नपरोस् भन्ने ठान्थेँ । त्यसैले मलाई मौनताको आसन प्रियकर लाग्नु स्वाभाविक थियो ।

मन नलागी नलागी यति मात्र बोलेँ, “हो, छुट्टिए । पुर्खाहरू पनि सधैँ एउटै भान्सामा अटाएनन् ।”

अनि तपाईंहरू कुन छोराको साथमा बस्नुभयो नि ? उनी अन्तर्वार्ता लिन तयार भएको पत्रकार झैँ फेरि प्रश्नको झटारो बोकेर मुसुमुसु हाँसिरहेका थिए ।

“हामी त दुवै छोरासँगै बसेका छौँ । कुनैसँग नबसेपछि दुवैसँग बसे जस्तो भइहाल्ने रहेछ ।” मनभित्रै स्वर दबाएर फेरि यति बोल्न बाध्य भएँ ।

“अनि अंशबन्डा कसरी गर्नुभयो नि ? आफूहरूलाई के कति सम्पत्ति राख्नुभयो ? पछि हेरचाह गर्ने कोही नहोलान् नि ! त्यो कुरा कत्तिको विचार गर्नुभएको छ ?” उनले मलाई केरकार गर्न छोडेनन् । उनले मलाई यसरी सोधिरहेका थिए कि मानौँ उनी न्यायाधीश हुन् । उनको अनुमतिबेगर हामीले अंशबन्डा गर्नु हुँदैनथ्यो । मैले उनको चासोलाई पनि सामान्य रूपमा लिएँ किनकि वरिपरि छरछिमेकमा के भइरहेको छ भनेर चियोचासो लिनु गाउँघरको विशेषता नै हो । कसैको केही मतलब नराख्ने ठाउँ त सहरबजार हो भन्ने कुरा मनमा आएपछि मैले उनका सवाललाई नकारात्मक रूपमा लिइनँ ।

अनि बिस्तारै भनेँ, “आफूलाई पनि राखेका छौँ । पुग्ने गरी राखेका छौँ ।”

यति भनेर म निकै समयसम्म मौन रहेँ । केही बोलिनँ । उनको हाउभाउ र अवस्थाको पनि खासै वास्ता गरिनँ ।

उनलाई मैले खासै महत्व नदिएपछि उनी अगाडि बढे । म पनि फर्केर घर आएँ । घर आइपुग्नासाथ फेरि पनि विरक्तियो मन । मनभित्र विभिन्न कुरा खेलिरहेका थिए । श्रीमतीको अनुहारमा पनि पीडाका छाया सलबलाइरहेका थिए । श्रीमतीको फुङ्ग उडेको अनुहारले धेरै कुरा बताइरहेको थियो । गृहस्थीको दाम्लोले बाँधिएकी उनी । न खानको ठेगान न सुत्नको ठेगान । दिनहुँ जसो खेतबारीमा व्यस्त हुँदा टाक्सिएको ज्यान । घरी घरी त श्रीमतीलाई देख्दा पनि मनमा दिक्दारीको लहर सलबलाउन थाल्थ्यो । मानौँ, उनको उदास मनले भनिरहेको थियो, “तपाईंले ठिक गर्नुभएन । तपाईंले ठिक गर्दै गर्नुभएन । आफूलाई पनि केही सम्पत्ति राख्नु पथ्र्यो । एउटा छोरो छान्नु पथ्र्यो, कस्तो बेपर्बाह मान्छे तपाईं त ।”

मलाई श्रीमतीनजिक पनि धेरै बेर बस्न मन लागेन । केही न केही गुनासो गरिरहने बानी छ उनको । उनले हरदम असन्तुष्टिको गहना पहिरेकी हुन्थिन् । आफूलाई खासै सम्पत्ति नराखी छोराहरूलाई भाग लगाइदिँदा त उनीहरूको चित्त बुझिरहेको थिएन । अझ आफूलाई बढी भाग राखेको भए के पो हुन्थ्यो होला ? हुन त दुवै छोरा कमाउने नै छन् । आआफ्ना तरिकाले गरिखाएका छन् तर पनि उनीहरूलाई नै पुगेको छैन । सम्पत्तिको भोक कस्तो हो कुन्नि ? जेठो छोरोले भन्यो, “म अंशमा ठगिएँ । बुवाले कान्छो छोरालाई काखी च्याप्नुभयो । राम्रा घडेरीयोग्य जग्गा जति सबै भाइलाई पर्दा पनि बुवाको विवेकले असमानता देखेन । म त छोरै होइन रहेछु ।”

जेठो छोरो मलाई पक्षपाती भनिरहेको थियो । मेरो दृष्टिकोणमा मैले दुवैलाई बराबर गरेको जस्तो लागिरहेको छ । फरक त मैले दुवैलाई गरेको थिइनँ । फेरि कान्छो छोराको आरोप छुट्टै थियो ममाथि । सोही दिन उसले भन्यो, “बुवाले मलाई ठग्नुभयो । बनिबनाउ घर जेठाको भागमा पर्दा पनि चुइँक्क केही बोल्नुभएन । बुवाको मन पनि मन नै रहेछ ।”

कसको कुरा सही भन्नु ? कसको कुरा गलत भन्नु ? श्रीमतीको चित्त नबुझे पनि भएको सबै जसो सम्पत्ति छोराहरूलाई भाग लगाइदिएँ । आफूलाई त के नै राखेको छु र ? अलिकति घरघडेरी मात्रै राख्दा पनि छोराहरूलाई अंश पुगेन छ । अब त दुवै रिसाएका छन् मसँग । दुवै मूलघरमा आउनै छोडे अचेल । अंशबन्डा गरेपछि त सबै खुसी हुनुपर्ने नि ! बाहिर बाहिर गुनासो गर्दै हिँडेको भन्ने सुन्छु तर पनि मेरो मनले कसै गरी पत्याएको छैन । मलाई अझै पनि लाग्छ, मेरा छोरा खराब छैनन् । घरी घरी त खराब मै हुँ कि जस्तो पनि लाग्छ । जागिरबाट निवृत्त हुँदा पाएको सञ्चय कोष, बिदा र औषधोपचारको सबै रकम घर बनाउँदै सकियो । पछि त्यही घरमा ठुलो कचिङ्गल हुन गयो । त्यही घर जेठो छोराको भागमा परेकाले कान्छो छोरो मसँग मुर्मुर्रिएको थियो । हुन त घर पाएर पनि जेठो छोरो मसँग खुसी थिएन । सबै रकम सिध्याएँ भनेर मसँग श्रीमतीको पनि गन गन बढेको थियो । 

एकैचोटि अतीतको आँगनमा पुगेर पछारिन्छु । दुई छोरा र दुई छोरीसहितको मेरो परिवार साँच्चिको नमुना थियो । म विद्यालयमा पढाउँथेँ । श्रीमती घरगृहस्थीको जाँतो घुमाउँथिन् । बाआमा बुढाबुढी भइसक्नुभएको थियो र घरकुरुवाको जिम्मेवारी वहन गरिरहनुभएको थियो । छोराछोरी मैले पढाउने विद्यालयमै पढ्दै थिए । छोराछोरीले सफलताको खुट्किलो उक्लँदै जाँदा हाम्रो छाती पनि त्यसै त्यसै खुसीले फुलेर आउँथ्यो । हाम्रो गाउँ जति सुन्दर थियो, त्योभन्दा बढी मेरो परिवार सुन्दर छ जस्तो लाग्थ्यो । आफूले सकेसम्म छोराछोरीलाई शिक्षा दिँदै आएँ । सबैले विद्यालय शिक्षा पूरा गरे । उनीहरूले पढ्न सकेसम्म र मैले पढाउन सकेसम्म सबै छोराछोरीलाई उच्च शिक्षा दिलाउने प्रयत्न गरेँ । कसैले पढ्न सके, कसैले पढ्न सकेनन्, त्यो बेग्लै कुरा भयो । सबैको बिहादान पनि गराइदिएँ । छोराहरू आआफ्नो योग्यताले जागिरे भए । म खुसीले फुरुङ्ङ भएको थिएँ । मेरो मनमा सदैव उमङ्गको लहर सलबलाइरहन्थ्यो ।

“होइन, चिया चिसो भएन ? किन नपिउनुभएको ? गिलासमा पानी पनि त्यत्तिकै छ ।” श्रीमतीको आवाजले म एकैचोटि झसङ्ग भएँ । म त तन्द्रामा पो रहेछु । मनभरि यादका लहर सलबलाइरहेका थिए । मन कस्तो कस्तो उदास भएको थियो । पानीको गिलास टिपेर पिइनसक्दै श्रीमतीले फेरि भनिन्, “सधैँभरि कति छोराको चिन्तामा डुब्नुभएको ? जाऊँ, एकछिन खेततिर पुगेर आऊँ ।”

“अब कतै नजाने । कसको खेततिर जानु ? खेत त छोराहरूलाई दिइहालियो ।” के के सोच्दासोच्दै यति त भनिहालेछु । पछि भने आफैँलाई कस्तो कस्तो लाग्यो । राख्न त अलिकति खेत आफूलाई पनि राखेको थिएँ । अलिकति घडेरी र घर आफूलाई पनि राखेको थिएँ । मनमा विभिन्न कुरा खेल्दै थिए । कहिले त के बोलँे भन्ने पनि बिर्सन थालेको थिएँ । मन जति बुझाउन खोजे पनि मनको घाउ कसै गरी ओभाउन सकिरहेको थिएन । आँखाहरू कसै गरी ओभाउन मानेका थिएनन् ।

“हामीलाई पनि राखेको होइन र खेत ?” श्रीमतीको अविश्वासयुक्त कथनले मेरो मनलाई फेरि उद्वेलित बनायो । मेरा आँखाबाट कसरी कसरी आँसु झरिसकेछन् । पछाडि फर्केर आँसु पुछेँ र सुस्तरी भनेँ, “तीन भागको एक भाग हामीलाई पनि राखेको । अब हामीलाई धेरै पनि पो किन चाहियो र ? छोराहरू खुसी रहून् । सुखी रहून् । त्यति भए हामीलाई भइहाल्यो नि ।” 

मैले कसो कसो यति भन्न भ्याइहालेछु । एक्कासि मेरा गह भरिएर आए । श्रीमतीको गुनासो अझै सकिएको थिएन । उनको मन पनि एक तमासको भएको मैले अनुभव गरिरहेको थिएँ ।

उनले भनिन्, “अब बुढाबुढी हुन लागियो । सम्पत्ति त हामीलाई पनि चाहिन्छ । अझ आफूलाई अलि बढी राख्नु पथ्र्यो । बिरामी परियो भने कसले गरिदेला त हाम्रो उपचार ?” “अँ, छाडिदेउ । बुढेसकालमा किन चाहियो सम्पत्ति ? उपचार गरे पनि मरिन्छ नगरे पनि । त्यही पनि अलि अलि पेन्सन पनि त आउँछ नि मेरो ।” भविष्यप्रति कुनै चिन्ता नराखी मैले यति भनेँ र अनुहारमा उम्रिएको वेदनाको चाया पखाल्न बाटोतिर निस्किएँ ।

छोराहरू छुट्टिएको पनि ठ्याक्कै एक महिना भयो आज । त्यसपछि छोराहरू फर्केर पनि आएका थिएनन् । छोराहरूलाई छुट्याउन मलाई पटक्कै मन थिएन । छोराहरूको बिचमा मनमुटावको पर्खाल निकै अग्लो भइसकेको थियोे । भेट हुँदा दाजुभाइ नबोल्नु त सामान्य कुरा भइसकेको थियो । उनीहरूको व्यवहार राष्ट्रहरूबिच युद्धरत सिपाहीको जस्तो भइसकेको थियोे । एउटै घरमा रहँदाबस्दा कति बेला के हुने हो, केही ठेगान थिएन । दाजुभाइका बिचमै डरलाग्दो अवस्था सिर्जना भएपछि मात्र छोराहरूलाई छुट्याउन म राजी भएको थिएँ । अति भएपछि खति हुन्छ भन्छन् । त्यसैले मन नमाने पनि छोराहरूलाई छुट्याइदिनु नै बुद्धिमानी होला भनेर छोराबुहारीसहितको भेला बोलाएँ ।

छोराहरूको यादले तड्पेकी श्रीमतीले पनि मलाई नै अर्घेलो सम्झिरहेकी थिइन् । एउटा छोरासँग बस्न नपाएको पिरलोले उनलाई निकै सताइरहेको थियो ।

एक दिन अपर्झट छोराहरूलाई बोलाएँ । दुवैलाई अगाडि राखेर भनेँ, “हामीले राखेको यो घरघडेरी र खेत पनि तिमीहरू आधा आधा बाँड । यो कलहको बिउ किन बाँकी राख्नु ।”

केहीबेर दुवै मुखामुख गरे । मेरो कुरालाई उनीहरूले कसरी लिए उनीहरू नै जानून् । दुवै केही बोलेनन् । जति दिनुभयो हामीलाई पुग्छ, तपाईंहरू पनि राख्नुहोस् भन्लान् जस्तो लागेको थियो तर उनीहरूले केही भनेनन् । श्रीमती पनि यतिखेर केही नबोली बसिरहेकी थिइन् । छोराहरूको मौनता चिर्दै मैले फेरि जोड दिएर भनेँ, “तिमीहरूलाई सम्पत्ति पुगेनछ । हामीलाई त अब किन चाहियो र ? हाम्रो भाग पनि तिमीहरू आधा आधा बाँडेर लैजाओ । हामीलाई केही दिनु पर्दैन । बरु बेला बेलामा भेट्न आउनु । हामीलाई यति भएपछि पुग्छ । छोराहरू छन् भन्ने आभासले मात्रै पनि अब हामीहरूको जीवन चल्छ ।”

उनीहरू बल्ल अलि अलि मुस्कुराए । मैले पनि धेरै दिनपछि अलिकति सन्तोषको सास फेरेँ ।