काठमाडौँ, असोज २० गते । जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन प्रकरणका आरोपित २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १५ दिनको निरन्तरको सुनुवाइपछि शक्रबार थुनछेक आदेश गरेको हो । मैनालीको इजलासले मुद्दासाथ पेस भएका २६ मध्ये २५ लाई थुनामा पठाएको हो । विमानस्थल भन्सार एजेन्ट रक्मिाना सुब्बाबाहेक अन्यलाई थुनामा राख्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । सुब्बासँग पाँच लाख रुपियाँ धरौटी माग भएको छ ।
अदालतको थुनछेक आदेशमा चित्त नबुझ्ने पक्षले एक तह माथिल्लो अदालतमा निवेदन दिन पाउने छ । अदालतले मुद्दासाथ पेस भएका बेल्जियन नागरिक दाबा छिरिङ, भारतीय नागरिक थुप्तिन छिरिङलगायत पाँच विदेशी नागरिकलाई थुनामा पठाएको छ । यस्तै ६१ किलो सुन आयात गरेको रेडी ट्रेडका सञ्चालक दिलीप भुजेललाई पनि थुनामा पठाइएको छ । आदेश अनुसार कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, यादव पराजुली, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, रामकुमार भुजेल पनि थुनामा पुगेका छन् । सुमन खरेल, शिवकुमार सराएफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल तथा सरोज श्रेष्ठलाई पनि थुनामा राख्न आदेश गरेको छ । प्रतिवादी बनाइएका जीवन चलाउने र अमला रोका भने फरार छिन् । प्रहरीले कुल तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपियाँ बिगो दाबी गर्दै भदौ ३१ गते मुद्दा दायर गरेको थियो । असोज १ गतेबाट बयान र थुनछेक प्रक्रिया सुरु भएको थियो ।
साउन २ गते विभानस्थलको गेटबाट राजस्व अनुसन्धान विभागले सुन समातेको थियो । विभागले एक महिनाभन्दा बढी अनुसन्धान गरेपछि मुद्दा प्रहरीलाई हस्तान्तरण भएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन प्रकरण अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।