• ५ पुस २०८२, शनिबार

फरार तेल ट्याङ्कर चालक पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी

धीरेन्द्रप्रसाद साह 
राजविराज, पुस ५ गते ।
ठक्कर दिएर फरार रहेका एक ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको रूपनी गाउँपालिका–६ स्थित विरेन्द्र बजारमा तेल ट्याङ्करको ठक्करबाट गत बिहीबार एक बालकको मृत्यु भएको थियो । पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनापछि फरार रहेका ट्याङ्कर चालक सप्तरीको सुरूङ्गा नगरपालिका–३ निवासी करिब २४ वर्षीय निराजनकुमार पसवानलाई शुक्रबार अपराह्न नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यही पुस ३ गते बिहान करिब ८ः३५ बजे लहानबाट रूपनीतर्फ आउँदै गरेको को.१ ख. ६९२७ नम्बरको तेल ट्याङ्करले बाटो क्रस गर्दै गरेका स्थानीय पुष्पनारायण महतोका ६ वर्षीय छोरा सचिन महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा सचिनको टाउको तथा दुबै खुट्टामा गम्भीर चोट लागेको थियो ।

घाइते बालकलाई तत्काल उपचारका लागि रूपनीस्थित युनिक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै जाँदा थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा सुनसरीको कोशी कटान क्षेत्रमा बालक सचिनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रूपनीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले तत्काल ट्याङ्कर नियन्त्रणमा लिए पनि चालक भने घटनापछि फरार भएका थिए ।

चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।