• ५ पुस २०८२, शनिबार

पालमा बसेका आरक्षपीडितलाई चिसोको समस्या

blog

पालमुनि बसेका आरक्षपीडित । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), पुस ५ गते । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आउनुभएको छ । भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको जमिनमा पालमुनि बस्दै आउनुभएका उहाँले चिसोका कारण पालमुनि बस्न समस्या भइरहेको बताउनुभयो । जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिँदा रातभर चिसोले कठ्याङ्ग्रिँदै गुजारा गर्नु परेको आरक्ष विस्थापितले पीडा पोख्नुभयो । सरकारले २०५८ वन्यजन्तु आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता गर्नुपर्ने आरक्षपीडित भट्टले माग गर्नुभयो ।  

यसै गरी रौतेली बिछुवाबाट विस्थापित अर्का आरक्षपीडित वासुदेवी दमाईंले बर्सेनि चिसोमा कष्टकर जीवन बिताउन बाध्य भएको तर सरकारले कुनै ध्यान नदिएको गुनासो गर्नुभयो । दमाईंका जेठा छोरा राजु दमाई २८ वर्ष पहिले बेपत्ता हुनुभएको थियो । “जेठो छोरा कमाउन भारत गएपछि बेपत्ता भयो,” उहाँले भन्नुभयो, “कहिले अँधिया त कहिले मजदुरी गरेर गुजारा गर्दै आएकी छु ।” कान्छो छोरा कमाउन भारत गएकाले दैनिकी टार्न केही सजिलो भएको उहाँले सुनाउनुभयो । “चिसोमा पालमुनि बसेका छौँ,” उहाँले भन्नुभयो, “न खाने न लगाउने केही पनि छैन ।” 

खान, लगाउनका लागि कतैबाट पनि सहयोग नहुँदा आरक्षपीडितहरू विपत्तिमा दैनिकी काट्नु परेको गुनासो गर्छन् । हिरापुरबाट विस्थापित हुनुभएका ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पालमा बस्दै आउनुभएको छ । न्यानो कपडाका अभावमा रात काट्न समस्या भएको भन्दै उहाँले खानेपानी, शौचालयको पनि व्यवस्था नहुँदा झनै समस्या भएको गुनासो गर्नुभयो ।  

जिल्लास्थित ढक्का, हिरापुरलगायत ११ शिविरका तीन सय परिवार अहिले महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बस्नुभएको छ । आरक्षपीडितले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आउनुभएको छ ।  विभिन्न स्थानमा शिविरमा झन्डै चार हजार आरक्ष विस्थापित बस्दै आएका छन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारले यहाँको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर आरक्षपीडित परिवारलाई खानेपानी, खाद्यान्न, लत्ताकपडा, शौचालयको व्यवस्था गरिदिन आग्रह गरे पनि वास्ता नगरेको गुनासो गर्नुभयो । 

जडीबुटीको खाली जमिनमा बस्दै आएका आरक्षपीडितलाई भगतपुरका स्थानीयले दुई वटा खानेपानीको धारा उपलब्ध गराएर सहयोग गर्नुभएको छ । उक्त धाराको पानीले खानका लागि गुजारा चलेको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष सुनारले बताउनुभयो तर लत्ताकपडा धुन, नुहाउनका लागि भने उनीहरू टाढाको खोला, नदीमा जाने गरेको बताउँछन् । 

भीमदत्त नगरपालिकाले जिल्लाका अन्य पालिकाबाट आएर यहाँ बसेका आरक्षपीडितको सम्पूर्ण व्यवस्थापन भने गर्न नसकिने बताएको छ । उहाँहरूलाई सम्बन्धित पालिकाले राहत तथा अन्य कुराको व्यवस्था गर्नुपर्ने भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशीलकुमार भट्टले बताउनुभयो । “सुरुमा उहाँहरूलाई केही चामलको व्यवस्थापन गर्ने कुरा भएको हो, वडाध्यक्ष भट्टले भन्नुभयो, “लामो समयसम्म भीमदत्तमै बस्ने भन्ने थाहा भएन, यो समस्या चाहिँ बाहिरको हो, भीमदत्तको त होइन ।” गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आरक्षपीडितलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।