गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ५ गते । सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण गर्ने गरी गृहकार्य सुरु गरेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते र मृत्यु भएका परिवारका कोही सदस्य वैदेशिक रोजगारीमा जान चाहनेलाई विदेश पठाउन सहजीकरण गर्ने जनाएको हो ।
श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जेनजीले सरकारसँग गरेका माग अनुसार जेनजी आन्दोलनमा घाइते तथा मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेको हकमा वैदेशिक रोजगार व्यवसायीसँगको समन्वयमा निःशुल्क पठाउने व्यवस्था गर्ने जानकारी दिनुभयो ।
घिमिरेका अनुसार जेनजी आन्दोलनका घाइतेका परिवार र मृतकका परिवार सदस्यलाई आन्तरिक रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिम दिने र त्यसलाई वैदेशिक र आन्तरिक रोजगारीसँग जोड्न मन्त्रालयले गृहकार्य सुरु गरेको छ । जेनजी आन्तरिक रोजगारीमा जोडिन आवश्यक पर्ने सिपमूलक तालिमका लागि व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (भैँसेपाटी) मार्फत सिपमूलक तालिम प्रदान गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
श्रम मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीसँग गरेको छलफलमा वैदेशिक रोजगारीमा जान चाहेको खण्डमा निःशुल्क पठाउन सहजीकरण गर्ने सहमति भएको जनाइएको छ ।
मन्त्रालयले आन्तरिक रोजगारीका लागि सिप तालिम लिन चाहेमा जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी त्यसमार्फत सो आन्दोलनका घाइते तथा मृतकका परिवारका सदस्यलाई मर्यादित र सुरक्षित आन्तरिक रोजगारीको सुनिश्चत गर्ने जनाएको छ । मन्त्रालयका अनुसार घाइतेका परिवार र मृतकका परिवारसँगको समन्वय, छलफल र परामर्शमा उनीहरूलाई आवश्यक पर्ने तालिम उपलब्ध गराइने छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत तालिम दिने गरिएको छ भने आन्तरिक रोजगारीका लागि व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत सरकारी निकायबाट सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।