• ५ पुस २०८२, शनिबार

अतिथि भवन दशकौँदेखि अलपत्र

blog

गुलरियास्थित राधाकृष्ण चोकमा रहेको अतिथि भवन । तस्बिर : ज्योती पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), पुस ५ गते । कुनै समय बर्दिया आउने मन्त्री, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणका लागि भरपर्दो बास बनेको सदरमुकाम गुलरियास्थित अतिथि भवन अहिले अलपत्र छ । मुलुक सङ्घीयतामा गएपछि व्यवस्थापनको स्पष्ट जिम्मेवारी नतोकिँदा ऐतिहासिक र सार्वजनिक महत्वको यो भवन प्रयोगविहीन बनेको हो । 

तत्कालीन जिल्ला विकास समितिको रेखदेख तथा सञ्चालनमा रहेको उक्त अतिथि भवन सङ्घीयता लागु भएपछि जिल्ला समन्वय समितिमा रूपान्तरण भए पनि भवनको संरक्षण र उपयोगप्रति चासो नदेखाइँदा अवस्था जर्जर बन्दै गएको स्थानीयको गुनासो छ । 

स्थानीयको योगदानबाट निर्माण भएको यो भवन झन्डै एक दशकदेखि प्रयोगविहीन छ । २०५४ सालमा तत्कालीन गुलरिया नगरपालिका–१०, कोठियागाउँका स्थानीय भरतजङ्ग शाहले जिल्ला विकास समितिको नाममा सात कट्ठा १० धुर जग्गा दान गरेपछि सोही स्थानमा अतिथि भवन निर्माण गरिएको थियो । 

मुख्य बजार क्षेत्रमै अवस्थित यो सरकारी सम्पत्ति संरक्षण अभावमा अहिले सवारीसाधन पार्किङ स्थलमा परिणत भएको छ । भवन जीर्ण बन्दै गएको छ भने परिसरभित्रको अव्यवस्थित पार्किङका कारण राधाकृष्ण चोक क्षेत्रसमेत कुरूप बन्दै गएको छ । गुलरिया नगरपालिका–५, सुहेलवाका कृष्ण पोखरेलले समन्वय समितिको बेवास्ताका कारण अतिथि भवन अलपत्र परेको बताउनुभयो । त्यस्तै वडा नं. ४ का स्थानीय डोलराज सिग्देलले सरकारी लापर्बाहीकै कारण भवन र त्यससँगैको बहुमूल्य जग्गा प्रयोगविहीन बनेको गुनासो गर्नुभयो । 

जिल्ला विकास समिति खारेज भएपछि अतिथि भवनको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी जिल्ला समन्वय समितिमा आए पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको स्थानीयको आरोप छ । यसबारे प्रतिक्रिया दिँदै जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सूर्यबहादुर विष्टले भवन संरक्षणका लागि आवश्यक बजेट अभाव रहेको स्वीकार गर्नुभयो । उहाँका अनुसार वैकल्पिक रूपमा दाताको खोजी भइरहेको छ । 

अध्यक्ष विष्टले भन्नुभयो, “गुलरियाको मुटुमा रहेको यो जग्गामा सटर निर्माण गर्न सकिए समन्वय समितिका लागि स्थायी आम्दानीको स्रोत बन्न सक्छ । लगानीका लागि आवश्यक रकम नहुँदा योजना कार्यान्वयन हुन सकेको छैन ।”

सार्वजनिक हितका लागि निर्माण गरिएको बहुमूल्य सरकारी सम्पत्ति व्यवस्थापनको अभावमा खेर जाँदा स्थानीयवासीले चाँडोभन्दा चाँडो स्पष्ट नीति, बजेट व्यवस्था र दीर्घकालीन उपयोग योजनाको माग गरेका छन् । अन्यथा ऐतिहासिक महìव बोकेको यो अतिथि भवन पूर्ण रूपमा जीर्ण हुने खतरा बढ्दै गएको उनीहरूको चिन्ता छ ।