• ५ पुस २०८२, शनिबार

सरकारका एक सय दिन

निर्वाचन परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठान

blog

प्रधानमन्त्री सुशीला कार्की

  • फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो ।
  • निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्ला पूर्णतः निराधार रहेकाले तोकिएकै समयमा निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकार चट्टान झैँ दृढ रहेको स्पष्ट फजुल खर्च नियन्त्रण, वित्तीय सुशासन कायम, अनधिकृत र अवाञ्छित सुविधा कटौती, अनावश्यक कार्यालय खारेज, 
  • एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनः प्राथमिकीकरण, ५० हजारभन्दा बढी गुनासो सम्बोधनका साथै काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चितलगायतका दूरगामी सफलता 

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो । 

उहाँले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रस्ट पार्दै राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “म यही मञ्चबाट देश र दुनियाँलाई प्रस्ट पार्न चाहन्छु, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको र सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ रहेको प्रस्ट पार्नुभएको छ । उहाँले राष्ट्रिय एकताका लागि आह्वान गर्दै चुनावमा कसले जित्छ वा कसले हार्छ भन्ने कुरा गौण रहेको र लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा महत्वपूर्ण उपलब्धि हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ ।”

उपलब्धिका लागि धैर्यको खाँचो 

प्रधानमन्त्री कार्कीले देशले खोजेको परिवर्तन एकैदिनमा प्राप्त हुने उपलब्धि नभई एउटा लामो र अविराम यात्राबाटै हासिल हुने बताउनुभएको छ । उहाँले यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न धैर्यको खाँचो रहेको बताउनुभएको छ । 

उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सबालमा कुनै कसर बाँकी नराखेको पनि जानकारी दिनुभएको छ । उहाँका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ । उहाँले आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको र अन्य ३२ थान हतियार प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । उहाँले क्षतिग्रस्त ४६५ प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । उहाँका अनुसार निर्वाचन आयोगलाई आवश्यक छ अर्ब ७३ करोड रुपियाँ बजेट सुनिश्चित गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “यस पटक अर्को ऐतिहासिक फड्को मारेका छौँ । मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौँ ।”

प्रधानमन्त्री कार्कीले एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो रहेको र ११४ वटा राजनीतिक दल यस प्रक्रियामा सहभागी हुनुले लोकतन्त्र बलियो छ भन्ने प्रमाणित भएको बताउनुभएको छ । उहाँले विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमै रहेको प्रस्ट पार्नुभएको छ । 

जेनजी र युवालाई अपिल 

प्रधानमन्त्री कार्कीले निर्वाचन कसैको हारजित नभई लोकतन्त्र र सुशासन जिताउने अभियान भएको प्रस्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ, “तपाईंहरूले चाहेको भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो । म हाम्रा ‘जेनजी’ लाई भन्न चाहन्छु, तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् । सडकको आन्दोलनले प्रश्न उठाउँछ तर मतपत्रले समाधान दिन्छ । तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ ।”

प्रधानमन्त्री कार्कीले एक सय दिनअघि देशको अवस्था के थियो र अहिले के छ भनेर तुलना गरी हेर्न पनि सबै राजनीतिक पक्षलाई अनुरोध गर्नुभएको छ । उहाँले असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मन्त्रीपरिषद्का सदस्य, सुरक्षा निकाय, राष्ट्रसेवक र नागरिक समाजका सदस्यले अथक प्रयास गरेको बताउनुभएको छ । उहाँले फलस्वरूप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको र खास गरी सुरक्षा निकायको मनोबल अहिले दीर्घकालसम्म बढाउने काम गरिरहेको जानकारी दिनुभएको छ । 

भ्रष्टलाई कारबाही, खर्च कटौती 

प्रधानमन्त्री कार्कीले शक्तिका आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान गर्ने निकायले अहिले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको बताउनुभएको छ । उहाँले यी कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको प्रस्ट पार्नुभएको छ । 

उहाँले भन्नुभएको छ, “मिलेमतोमा ठेक्का हात पार्ने, विकास आयोजनाको कामै नगर्ने र राज्यको स्रोतसाधन दुरुपयोग गर्नेको माखेसाङ्लो तोड्न पनि सरकार लागिपरेको छ ।”

प्रधानमन्त्री कार्कीले एक सय दिनमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको र पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताउनुभएको छ । उहाँले मापदण्डविपरीत खटिएका पाँच सय सुरक्षाकर्मी र सवारीसाधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

उहाँले अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको, एक खर्ब १९ अर्ब रुपियाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको बताउनुभएको छ । साथै उहाँले थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ । उहाँले ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको, काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको विषय उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ । 

प्रधानमन्त्रीको प्रतिबद्धता 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले सडकमा फरक कम्पन पैदा गरेको स्मरण गर्दै त्यो छट्पटी र आक्रोशले समाजलाई केही हदसम्म बिथोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । उहाँले जीवन्त लोकतन्त्रको सौन्दर्य नै हरेक सङ्कटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्ने बताउनुभएको छ । 

उहाँले भदौ २३ र २४ को दुःखद घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको र ती घटनामा ज्यान गुमाउने योद्धालाई सहिद घोषणा गरेको, घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । उहाँले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मार्फत काम थालिएको बताउँदै अब ती नमिठा पललाई बिर्सेर सुन्दर र स्थिर भविष्य निर्माणतर्फ अघि बढ्न आह्वान गर्नुभएको छ ।