कविराज घिमिरे
हिले, पुस ४ गते । वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी । सबैभन्दा अनौठो त सो रसाइरहेको पानीले भेटेका हरेक बस्तु केही समयको अन्तरालमा आफैँ पत्थर झैँ हुन्छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं. ४ डाँडा खर्कमा अनौठो विशेषता भएको यो क्षेत्रलाई स्थानीयले दुग्धनाथ मन्दिर मानी पूजाआजा गर्दै आएका छन् ।
जहाँ शिव भगवानको बास रहेको विश्वास रही आएको स्थानीय खेमराज भण्डारी बताउनुहुन्छ । मन्दिरमा चढाएका घण्टी त्रिशूल लगायतका बस्तु अहिले पत्थरझैँ भएको देख्न सकिन्छ । भण्डारीका अनुसार त्रिशूल घण्टी राखिएको करिब एक वर्षको अन्तरालमा पत्थर झैँ हुने गरेको छ । यही फरक विशेषता भएका कारण त्यहाँ पुग्ने जोकोही अचम्मित हुन्छन् ।
लेगुवा खाँदवारि सडकखण्डको दमारभन्दा करिब दुई किलो मिटरको माथि रहेको छ । स्थानीयको भनाइ अनुसार करिब बिक्रम सम्वत १९५० साल तिर बाट यो स्थान पत्ता लागेको हो । सो समयमा तत्कालीन स्थानीय भद्र बहादुर बस्नेतको गाई खोचमा खसेको र सो गाई सोही स्थानमा गएर अडिएको थियो । गाई खोज्न जाँदा सो स्थानमा गाईको थुनको आकृति र सो थुनबाट दूध जस्तै रङ्गको पानी निरन्तर बगिरहेको देखेपछि स्थानीयले पूजाआजा गर्दै आएका स्थानीय भीमबहादुर थापाको भनाइ छ ।

बिक्रम सम्बत २०५८ सालबाट भने स्थानीयले पूर्वाधार निर्माण र नियमित पूजा गर्दै आएका छन् । अहिले सो स्थानमा पालिका वडा तथा विभिन्न दाताको सहयोगमा कच्ची सडक, सिडी, पाटी, बिश्रमालय, आदि निर्माण गरीएको छ । स्थानीयको अगुवाइमा गाँउले सबै भेला भएर वर्षमा एक पटक सामूहिक पूजा शिव रात्रि, वालाचतुरदशी लगायतका विशेष पूजा हुने गरेको स्थानीय थर्कबहादुर थापा बताउनुहुन्छ ।
धार्मिक रूपमा यो स्थानको विशेषता भनेको मागेको बर पूरा हुनु हो । यो स्थानको यही फरक विशेषताकै कारण यहाँसम्म पुग्ने जोकोहीलाई अचम्मित बनाउँछ । वरिपरिका डाँडा वाट देखिने अरुण नदी अरुण उपत्यका सहितका मनमोहक दृश्यले समेत लोभ्याउँछन् । यो स्थानको प्रचारप्रसार गर्न सके धार्मिक तथा पर्यटकीय रूपमा निक्कै फाइदा पुग्ने स्थानीयको भनाई छ । पूर्वधाार निर्माण गरी प्रचारप्रसारको तयारी गरीएको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शुक्रराज बुढाथोकी बताउनु हुन्छ ।
