नवीनराज कुइँकेल
लमजुङ, पुस ४ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभयो । एक हजार ७ सय ३७ मत ल्याएर उहाँ ‘म्यान अफ दि इलेक्सन’ बन्नुभएको थियो । उहाँले अध्यक्ष केपी शर्मा ओलीभन्दा ७४ मत बढी प्राप्त गर्नुभएको थियो ।
खुला केन्द्रीय सदस्यतर्फ डा. भीष्मनाथ अधिकारी १ हजार ३ सय ९६ मतका साथ निर्वाचित हुनुभयो । उहाँ केन्द्रीय कार्यालय सचिव हुनुहुन्छ । यसैगरी जमीन्द्रमान घले १ हजार ३ सय ४५ मत, महिला खुलातर्फ टुकाभद्र हमाल १ हजार ८ सय २६ मत, सम्पर्क समन्वय कमिटी, महिलातर्फ भगवती थापा क्षेत्री (कल्पना) १ हजार ८ सय ३७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँहरु तीनै जना यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
यसपटक लमजुङबाट कृष्णप्रसाद अधिकारी र यशोदा रिमालले केन्द्रीय सदस्यमा डेब्यु गर्नुभएको छ । कृष्णप्रसाद अधिकारी १ हजार १८ मत र यशोदा रिमाल १ हजार ८ सय ७ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । अघिकारी एमाले लमजुङका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने रिमाल गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
दलित युवा (४० वर्षमुनि) तर्फ हीरालाल विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएपनि उहाँ निर्वाचित हुन सक्नुभएन । उहाँले ३ सय ६४ मत प्राप्त गर्नुभएको थियो । अनुशासन आयोगको सचिवमा डा. राजेन्द्र घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता हुनुहुन्थ्यो ।
संस्थापन पक्षको प्यानलमा परेपनि केन्द्रीय अनुशासन आयोगका सदस्य रहनुभएका मायानाथ अधिकारीले यसपटक पनि सोही पदमा उम्मेद्वारी दिन अस्वीकार गर्नुभएको थियो ।