• ५ पुस २०८२, शनिबार

गोरखापत्र डिस्कोर्स विशेष

संयमित र आत्मबलयुक्त निजी क्षेत्र

blog

पूर्वाधार विकास र रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारको साझा प्रयासको आवश्यकतामा सरोकारवालाको एकमत रहेको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार भएको बृहत् बहस गोरखापत्र डिस्कोर्समा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले यस्तो विचार राखेका हुन् ।

विसं २०७२ मा गएको विनाशकारी भूकम्प, कोभिड–१९ त्यसपछिका आन्तरिक र बाह्य कारण तथा गत भदौ २३ र २४ को जेनजी आन्दोलनको असर अर्थतन्त्रमा परेकाले त्यसको पुनरुत्थानका लागि सार्वजनिक–निजी साझेदारी मात्र नभई आमनेपालीले नै राष्ट्रिय सम्पत्तिको संरक्षण र पुँजी निर्माणमा लाग्नुपर्ने पनि अभिमत आएको छ । तथापि निजी क्षेत्रले सुरक्षालगायतका माग गर्दै मनोबल उकास्न राज्यका तर्फबाट ठुलो अपेक्षा गरेको छ । 

डिस्कोर्समा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक पटक आन्दोलनमा निजी क्षेत्र आक्रमणमा परिरहेको भन्दै जेनजीको आन्दालेनमा पनि तारो निजी क्षेत्र भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले रोजगारी दिने र राज्यलाई कर तिरेर व्यवसाय गर्ने पक्षमाथि अन्याय भएको बताउनुभयो । 

यस्तो भए पनि निजी क्षेत्रको उत्थानशीलता र मनोबल उच्च रहेको अर्थमन्त्री रामेश्वर खनालको धारणा थियो । उहाँले भदौ २५ र २६ गते शून्य जस्तै रहेको नेपालको आर्थिक गतिविधि त्यसपछि पुनः सहज अवस्थामा आएको भन्दै त्यो निजी क्षेत्रबाटै सम्भव भएको बताउनुभयो । उहाँका अनुसार त्यसबेला त राज्य निरीह नै थियो । 

उहाँले भने जस्तै निजी क्षेत्रका साना पसलदेखि ठुला उद्यम व्यवसाय सङ्क्रमणका घाउमा मलम पट्टी लाउँदै सञ्चालनमा रहेका थिए । प्रत्यक्ष वैदेशिक लगानीको एनसेलले आफ्नो जल्दो कर्पोरेट भवनबाट सञ्चार सेवा प्रवाह गरिरह्यो । यसरी थामिएको एनसेलका निर्देशक श्रेष्ठले एनसेल कार्यालयबाट सामग्री लुटपाट गर्ने राजनीतिक उद्देश्य जेनजीको नरहेको बताउँदै व्यावसायिक सुरक्षा, लगानीको सुरक्षा र प्रतिफल लिन सक्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो ।

आफ्ना धेरै स्टोरहरू जलेको, तोडफोड भएको र लुटिएको भाटभटेनी सुपर स्टोरका धेरै आउटलेट खुले । व्यवसाय ठप्प हुँदा पनि भाटभटेनीले कर्मचारी कामदार कटौती नगरी सेवा सुविधा दिन पनि कुनै कन्जुस्याइँ गरेन । 

जसका कारण व्यवसायी मीनबहादुर गुरुङको मनोबल उकास्न आमसमर्थन प्राप्त भयो । व्यवसायीको आत्मबल उकास्न दसैँतिहारको बजारको किनमेल भाटभटेनीमा नै गर्ने उपभोक्ता पनि बढे । त्यो साङ्केतिक सहयोग भए पनि त्यसको ठुलो अर्थ थियो । यस्तै मनोबलका कारण भाटभटेनीले ८५ दिनमा नै खरानीमाथि आफ्नो मुख्य गोदाम खडा गरेर सञ्चालनमा ल्याएको छ । 

जेनजी आन्दोलनका क्रममा भएको निजी र सार्वजनिक जुनसुकै सम्पत्ति पनि राष्ट्रको भएकाले त्यस्तो सम्पत्तिको संरक्षण राज्य र निजी क्षेत्र दुवैका तर्फबाट खोजिएको धारणा पनि समान रूपमा आएको छ । 

समारोहमा अर्थमन्त्री रामेश्वर खनालले नेपालको निजी क्षेत्रको मनोबल बढाउन सरकारले सहयोगका योजना ल्याएको स्मरण गर्नुभयो । जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी क्षेत्र दुवैको गरी झन्डै ८४ अर्बको क्षति भएको सरकारको प्रारम्भिक मूल्याङ्कन छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आन्दोलनमा व्यावसायिक प्रतिष्ठान, व्यक्तिगत आवास र व्यक्तिगत सम्पत्तिमा भएको तोडफोड, लुटपाटका घटनाप्रति सरकार संवेदनशील रहेको भन्दै लक्षित र सङ्गठित आक्रमणलाई छुट दिने नीति सरकारको नरहेकोमा आश्वस्त गराउनुभयो । 

सरकार र निजी क्षेत्रको यस्तो नीति र व्यवहार नेपालको अर्थतन्त्रको उत्थानशीलतामा उदाहरणीय घटना पनि रह्यो । अर्थतन्त्रको ठुलो सञ्चालक र रोजगारी सिर्जनाको पहिलो पक्ष नेपालको निजी क्षेत्र संयमित र आत्मबलयुक्त रहेको पुष्टि पनि यी घटनाले गरेको छ ।