गोरखापत्र अनलाइन
काठमाडौं, असोज १९ गते । महिला सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । सञ्चार माध्यमले राजनीति पद र विवादित विषयलाई प्राथमिकतामा राख्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्नेगरेको उहाँहरुले गुनासो गर्नुभएको हो ।
‘महिला सांसद र सञ्चार’ विषयमा संसद सहयोग परियोजनाको सहकार्यमा नेपाल एफएम नेटवर्कले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सांसदहरुले सो गुनासो गर्नुभएको हो । सञ्चार माध्यमले विषयभन्दा व्यक्तिलाई ध्यान दिएको उहाँहरुको भनाइ छ ।
कार्यक्रममा सांसदहरुले वास्तविकतामा कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको तर सञ्चारमाध्यमले यस्ता विषय खोजेर समाचार तयार गर्न नसकेको सांसद नारायणी शर्माले बताउनुभयो ।
उहाँले मिडियाको पहिलो रोजाइ पुरुष सांसद पर्ने र महिला सांसदलाई प्राथमिकतामा नराख्ने गरेको आरोप लगाउनुभयो । सांसद शर्माले चर्चामा आउने विषयमा पूरुष सांसद केन्द्रविन्दुमा पर्ने गरेको बताउनुभयो ।
सांसद सरिता भूषालले महिलालाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको र महिलाले केही जान्दैनन् भनेर उपहास गर्ने चलन रहेको बताउनुभयो । यसो हुँदाहुँदै पनि महिला सांसदहरु अघि बढिरहनुभएको छ उहाँले भन्नुभयो ।
सांसद हर्कमाया विश्वकर्माले संसदमा बोल्नेक्रममा र कानून निर्माणमा महिलाको सहभागिता शसक्त रहेको बताउनुभयो । महिला सांसदले गरेको कामलाई जनताकोबीचमा स्थापित गराउन सञ्चार माध्यमले भूमिका खेल्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
एउटै विषयमा बोल्दा पुरुष सांसदको कुरा मिडियामा आउने तर महिला सांसदको कुरा नआउने प्रचलन कायम रहेको उहाँको दावी छ । संसद भवनबाट निस्किँदै गर्दा मिडियाले पुरुष सांसदलाई नै बढी प्राथमिकता दिनेगरेको सांसद विश्वकर्माको भनाइ छ ।
सांसद सिताकुमारी रानाले महिला सांसदले नबोलेको भन्ने कुरा सही नभएको बताउनुभयो । उहाँले सांसद बन्नका लागि मिडियाले धेरै सघाएको भए पनि कहिलेकाँही राम्रो बोलेको कुरा पनि तथ्य बंग्याएर प्रस्तुत हुँदा दुःख लाग्नेगरेको अनुभव सुनाउनुभयो ।
सांसद विन्दबासिनी कंसकारले आफुले संसदमा बोलेको कुरालाई मिडियाले कम प्राथमिकता दिएको बताउनुभयो । ‘महिला सांसदले बोलिरहेको समयमा पुरुष सांसद आउनुभयो भने पत्रकार पुरुष सांसदतर्फ जानेगरेको उहाँको बुझाइ छ ।
कार्यक्रममा संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारले सांसदहरुलाई पत्रकारसँगको सम्बन्ध, समन्वय बढाउन र विषयवस्तुबारे जानकारी बढाउन सुझाव दिएका छन् । राष्ट्रिय सभाको दुई वर्ष (२०७५–०७६) को तथ्यांकअनुसार निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२.७५ प्रतिशत देखिएको छ ।
प्रतिनिधि सभातर्फ परिमार्जन भएका ३९ वटा विधेयक हेर्दा संशोधनमा महिला सांसदको सहभागिता ५०.६ प्रतिशत देखिएको छ । पुरुषले बोलेका विषय बढी राजनीतिक र महिला सांसदले बोलेका विषय विषयकेन्द्रित देखिएको छ ।
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार विनय गुरागाईले महिला सांसदले सञ्चार माध्यमसँग समन्वय गर्न नसक्दा पनि समाचारमा कभरेज कम भएको बताउनुभयो ।
राजनीति र संसदीय विषयलाई नै आफ्नो बिट बनाएर काम गरिरहेका पत्रकारहरुले पनि महिलाले विषयबस्तुलाई फरक तरिकाले प्रस्तुत गर्न नसकेकाले पनि महिला सांसदले उठाएका विषय सञ्चार माध्यममा आउन नसकेको बताएका छन् ।