• ४ पुस २०८२, शुक्रबार

दशरथ रंगशालामा उपाधि भिडन्त : एपिएफ र इस्ट बंगाल आमनेसामने

blog

काठमाडौँ, पुस ४ गते । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित नेपाल पुलिस क्लब एपिएफ शनिबार मैदानमा उत्रँदैछ । नेपाली लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लबबीच शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको महिला फुटबल विकास गर्ने उद्देश्यअनुसार क्लब च्याम्पियनसिपको अवधारणा अघि सारेको हो । प्रतियोगितामा एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । तुलनात्मक रूपमा इस्ट बंगाल एपिएफभन्दा बलियो देखिए पनि लिग चरणको अन्तिम खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । यस च्याम्पियनसिपमा पाँच वटा क्लबको सहभागिता रहेको थियो ।

इस्ट बंगालले एपिएफसँग खेल्नुअघि अन्य तीन टोलीविरुद्ध गोल वर्षा गरेको थियो । तर एपिएफविरुद्ध भने उसको आक्रामक अग्रपंक्तिले अपेक्षित प्रदर्शन गर्न सकेन । इस्ट बंगालकी स्टार स्ट्राइकर फाजिला इक्वापुटलाई राष्ट्रिय टोलीका खेलाडी समेटिएको एपिएफको रक्षापंक्तिले सफलतापूर्वक रोक्यो । गोलस्कोरिङमा समस्या देखिएको एपिएफ र बलियो आक्रामक अग्रपंक्ति भएको इस्ट बंगालबीचको फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । विपक्षीलाई आफ्नो रणनीति नखुलोस् भनेर इस्ट बंगालले लिगको अन्तिम खेलमा पूर्ण क्षमताको प्रदर्शन नगरेको पनि हुन सक्ने विश्लेषण गरिएको छ ।

घरेलु दर्शकको साथ पाएको एपिएफका लागि उपाधि जित्ने लक्ष्य चुनौतीपूर्ण भए पनि सम्भावनायुक्त रहेको छ । एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फाइनलका लागि टोली मानसिक र शारीरिक रूपमा तयार रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । पछिल्लो खेलमा गोल गर्न नसके पनि त्यसमा सुधारका लागि पछिल्ला दुई दिन विशेष अभ्यास गरिएको उनले जानकारी दिए ।

लामो समयदेखि नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको अवस्थामा यो प्रतियोगिता ऐतिहासिक अवसर भएको प्रशिक्षक पाण्डेले उल्लेख गरे । रक्षापंक्ति र आक्रमण दुवै पक्ष सन्तुलित राख्दै विपक्षीको रणनीतिअनुसार खेल्ने उनको भनाइ छ । टोलीमा केही चोटका समस्या रहे पनि राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेकाले राम्रो नतिजा आउने विश्वास उनले व्यक्त गरे ।

स्टार खेलाडी सावित्रा भण्डारी, प्रीति राई र सबिता रानामगरको अनुपस्थितिमा एपिएफको आक्रमण कमजोर देखिएको छ । लिग चरणमा एपिएफले भुटानको ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगालविरुद्ध गोल गर्न सकेन । अवसर सदुपयोग गर्न नसक्दा एपिएफ लिग चरणमा दोस्रो स्थानमा सीमित भएको थियो । एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि टोली पूर्ण रूपमा तयार र उत्साहित रहेको बताउँदै महिला फुटबललाई पनि उपाधि दिलाउने लक्ष्य रहेको उल्लेख गरिन् ।

इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले घरेलु मैदानमा एपिएफले अपेक्षित प्रदर्शन गर्न नसकेको टिप्पणी गरे । लगातार क्लब च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप खेल्नुपर्दा टोलीको प्रदर्शन प्रभावित भएको उनको भनाइ छ । तर फाइनलमा सुधारिएको प्रदर्शन गर्ने र उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने उनले बताए ।

युगान्डा, नाइजेरिया र घानाका खेलाडी समेटिएको इस्ट बंगालको मुख्य शक्ति आक्रामक अग्रपंक्ति हो । टोलीकी स्ट्राइकर फाजिला इक्वापुटले प्रतियोगिताका तीन खेलमा सात गोल गरिसकेकी छन् । भारतीय लिगमा पनि २४ गोल गर्दै आफ्नो प्रभाव जमाएकी फाजिला फाइनलमा एपिएफका लागि मुख्य चुनौती बन्ने अपेक्षा गरिएको छ । इस्ट बंगालकी कप्तानसमेत रहेकी फाजिलाले फाइनल प्रतिस्पर्धात्मक हुने र टोली उपाधि जित्न सक्षम रहेको विश्वास व्यक्त गरेकी छन् ।

लिग चरणमा एपिएफले दुई जित र एक बराबरीको नतिजा निकालेको थियो भने इस्ट बंगालले तीन जित र एक बराबरी खेलेको थियो । एपिएफसँगको खेलबाहेक इस्ट बंगालको आक्रमण प्रभावशाली रहँदै आएको छ । घरेलु समर्थकमाझ खेल्दै एपिएफ भने महिला फुटबलमा लामो समयदेखिको उपाधि खडेरी तोड्ने लक्ष्यमा रहनेछ ।