• ४ पुस २०८२, शुक्रबार

‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई

blog

काठमाडौँ, पुस ४ गते । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) अन्तरविद्यालय स्तरीय समाचार प्रतियोगिताको छात्रातर्फ तेजस्वी एकेडेमी र छात्रतर्फ संस्कृत स्कुल प्रथम भएका छन् ।

टप्सले आज नवोदित विद्या कुञ्ज माध्यमिक विद्यालयमा आयोजना गरेको अन्तरविद्यालय स्तरीय समाचार वाचन प्रतियोगिताको छात्रातर्फको उपाधि तेजस्वी एकेडेमीकी छात्रा प्रशंसा कँडेल र छात्रतर्फको उपाधि संस्कृत स्कुलका स्पन्दन श्रेष्ठले हात पार्नुभएको हो।

छात्रातर्फ दोस्रो स्वेतसदन स्कुलकी छात्रा एकता भण्डारी र छात्रतर्फ ह्वाइट हेवन एकेडेमीका छात्र सोनु गिरी हुनुभएको छ । यसैगरी छात्रातर्फ तृतीय हुनेमा ल्याण्डमार्क एकेडेमीकी सोविता सुवेदी र छात्रतर्फ लालिगुराँस एकेडेमीका सुगम सुनार हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

वडाध्यक्ष तिवारीले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का सचिव एवं नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले पठन संस्कृतिको विकास, क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउन समाचार वाचन प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) का अध्यक्ष भरतमणि पोखरेलले विसं २०७१ मा टप्स स्थापना गरी विद्यार्थीभित्र रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्दै आएको बताउनुभयो । टप्सले आज आयोजना अन्तरविद्यालयस्तरीय समाचार वाचन प्रतियोगितामा १४ विद्यालयका २८ विद्यार्थीले सहभागिता जनाएको नवोदित स्कुलका प्राचार्य विकासराज शर्माले जानकारी दिनुभयो । 

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र नेपाली भाषाका विज्ञ हरिप्रसाद आचार्य र राससकै समाचारदाता अच्युत रेग्मी हुनुहुन्थ्यो । टप्सले विभिन्न समयमा विद्यार्थीलाई शिक्षासँगै बास्केटबल, फुटबल, फुटसल, चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफलगायतका प्रतियोगिता गराउँदै आएको छ ।रासस