पाख्रीबास समाचारदाता
पाख्रीबास, (धनकुटा) पुस ४ गते । धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो ।
आयोजनाले करिब ६० मिटर लामो अन्डरपास बनाउने काम धमाधम गरिरहेको छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडकखण्ड अन्तर्गत मूलघाट दुई सय मिटर लामो पक्की पुल २०४० सालमा निर्माण गरिएको छ । तमोरमा भएको उक्त पुलको अधिकतम भारवहन क्षमता भने सत्तरी टन मात्रै रहेको छ ।
निर्माणाधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकको १४० टनसम्म सामग्री आउँदै गरेको आयोजनाका डिजिएम पङ्कज आनन्दले जानकारी दिनुभयो । उहाँले उक्त भार भवन सामग्री लैजान अन्डरपास निर्माणको काम भइरहेको बताउनुभयो ।
सडक विभागबाट स्वीकृति लिई तमोरमा अन्डरपास निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो । नेपाल सरकारको अनुमति पाएपछि अन्डरपास बनाउन सुरु भएको उहाँको भनाइ रहेको छ । बढी तौल भएका भारवहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डरपास निर्माण थालिएको पाइएको हो । हिउँदको समय भएकाले तमोर नदीमा पानीको सतह कम छ, पानीको सतह बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको पाइएको छ ।
यता सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहका अनुसार धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै रहेको बताउनुभयो । ४० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँको भनाइ रहेको छ तर आयोजनाका भारवहन सामग्री ओसार्दा पुलमा क्षति पुग्ने भन्दै अन्डरपास बनाइए पनि सडकको भारवहन क्षमता कम रहेको छ । डिजिएम आनन्दले भने परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिएको दाबी गर्नुभयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले सहमतिमार्फत माथिबाटै सहजीकरण हुने बताउनुभयो ।