• ६ जेठ २०८१, आइतबार

क्यान्सर रोकथाम सरकारको प्राथमिकतामा

blog

काठमाडौँ, असोज २० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने लक्ष्यमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खोप लगाउन प्रेरित गर्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री डा. महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै सामाजिक सुरक्षा, विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सरकारले बजेट विनियोजन गरेको भन्दै उहाँले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । 

मन्त्री डा. महतले प्राथमिकताका आधारमा बजेट विनियोजन हुनेपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा आवश्यकता र प्राथमिकताका आधारमा गरिने बताउनुभयो ।  

पूर्वमन्त्री उमा रेग्मीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपका बारेमा जनचेतना जगाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले क्यान्सर रोकथाममा निजी, साझेदारी र सरकारको पहल आवश्यक पर्ने बताउनुभयो । 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा बर्सेनि दुई हजार एक सय जना महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको भन्दै यसलाई रोक्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले एचपिभी खोपलाई राष्ट्रिय कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले २६ वर्षभन्दा माथिका महिलालाई खोप लगाउनु आवश्यक नभएको भन्दै नौदेखि १५ वर्षमुनिका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने उल्लेख गर्नुभयो । 

डा. शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको भन्दै २१ देखि ६५ वर्ष उमेर समूहका महिलालाई क्यान्सर रोगबाट बचाउन क्यान्सर पहिचान कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।