• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल र रोमानियाबिच श्रम समझदारी

blog

काठमाडौँ, असोज २० गते । नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो ।

श्रम मन्त्रालयका अनुसार रोमानियासँग भएको श्रम समझदारी नेपाली श्रमिकको हितलाई प्राथमिकतामा राखेर गरिएको छ । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको पनि छ । रोमानिया नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको र श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम क्षेत्रमा थप समझदारी भएको हो । 

प्रतिनिधिमण्डलबिचको द्विपक्षीय वार्ताका क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी श्रमिकको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सिपयुक्त श्रम बजारको पहिचान गर्नुुका साथै महिला श्रमिकलाई समेत लक्षित गरी वैदेशिक रोजगार संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको छ । 

 समझदारीमा दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सिप जस्ता विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको उल्लेख छ । रोमानियामा ठुलो सङ्ख्यामा आप्रवासी श्रमिक माग रहेको नेपाली श्रमिकको कार्यस्वभाव इमानदारिता, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकाले नेपालबाट श्रमिक छोटो समयमा स्वच्छ भर्नामार्फत रोमानिया ल्याउनेबारेमा त्यहाँको सरकारबाट चासो व्यक्त भएको छ । दुई देशको समझदारी अनुसार अब रोमानिया जाने नेपाली श्रमिकले रोमानियाका श्रमिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था हुने छ । 

श्रम समझदारीका क्रममा नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलसमेतको सहभागिता रहेको छ । रोमानियाका तर्फबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिको सहभागिता रहेको उक्त द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकारका विषय र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रमावका बारेमा प्रस्तुति गर्नुभयो ।  रोमानिया पक्षबाट नेपाली श्रमिक माग रहेको र पारदर्शी रूपमा श्रमिकको छनोट तथा छोटो अवधिमा श्रमिक ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त गर्नुभयो । सो अवसरमा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबिच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भयो । 

श्रम मन्त्रालयका अनुसार रोमानियामा उद्योग, कलकारखाना, कृषि, निर्माण, उत्पादन र अटोमोबाइल इनर्जी जस्तो श्रम सम्झौता गरी नेपाली श्रमिक पठाउन सकिने सम्भावना रहेको छ ।