गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।
२५ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने सरकारको योजना अनुरूप ‘टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको हो । उहाँका अनुसार श्रम मन्त्रालयमातहत रहने टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध महाशाखालगायतलाई सहभागी गराएर काम गरिने छ ।
श्रममन्त्री भण्डारीले श्रमिकको हक अधिकारको संरक्षण, सामाजिक सुरक्षा, श्रम कूटनीतिक सुदृढीकरण द्विपक्षीय सहकार्य, एकीकृत सूचना प्रणाली तथा तिनै तहका सरकारबिच समन्वयमार्फत श्रम आप्रवासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनपछि पनि सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठुलो विस्फोट हुन सक्नेतर्फ सबै सजग हुनुपर्ने उहाँको भनाइ छ ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम आप्रवासलाई प्रतिफलयुक्त बनाई प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलामार्फत समृद्धिका आधार बनाउने दिशातर्फ मन्त्रालयले काम गरेको जानकारी दिनुभयो ।
आप्रवासन दिवस मूल समारोह समितिका संयोजक पीताम्बर घिमिरेले वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकको सिप, पुँजी, ज्ञान र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने सरकारको नीति अनुरूप काम गरेको जानकारी दिनुभयो । दिवसका अवसरमा नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, सुन्धारा, नयाँ सडक हुँदै वसन्तपुरसम्म आएर पदयात्रा समापन भएको थियो ।