विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”
कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।
वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर चितवनको माडीमा एक युवकको मृत्यु भएको छ ।
बाजुराका अधिकांश स्थानीय यती बेला भूकम्पको डरले धमाधम घर छोडेर टहरामा बास बस्न थालेका छन् । जिल्लाका नौ वटै स्थानीय निकायका अधिकांश घर माटो र ढुङ्गाले मात्र निर्माण गरिएका छन् । असोज १६ गते आएको भूकम्पले यस्ता घरमा बढी क्षति गरेपछि अहिले यहाँका स्थानीय भूकम्पको डरले धमाधम घर छोडेर टहराको बास गर्न थालेका हुन् ।
दुवै खुट्टाको घुँडाको हड्डी खिइएर बाङ्गो भएपछि हिँड्नसमेत निकै कठिन अवस्थामा पुगेका बेलबहादुर कुँवर उपचारको पर्खाइमा हुनुहुन्छ । बेनी नगरपालिका–२, खबराको बिराहचौरका कुँवरका लागि आर्थिक अभाव हुँदा पछिल्लो दुई वर्षदेखि उपचार त्यसै रोकिएको छ । कुँवरले भन्नुभयो, “चार वर्षअगाडिसम्म सबै ठिक थियो । त्यसपछि विस्तारै घुँडामा समस्या हुँदै गयो र अहिले यस्तो अवस्थामा पुगेको छु ।” पोखरास्थित गण्डकी अस्पतालमा दुई वर्षअगाडि उपचारका लागि पुग्दा घुँडाको हड्डी खिइएकाले त्यसको अपरेसन गरेर फेर्नुपर्ने र १२ लाखभन्दा बढी खर्च लाग्ने भनेपछि आफूसँग उपचार गर्ने पैसा नहुँदा फर्केर घरमै बस्न थालेको उहाँको भनाइ छ । म ठिक हुँदा अरूलाई पनि सहयोग गर्ने गर्थें तर आफैँ यस्तो हुँदा कसैले केही सहयोग गरे ठिकै छ भनेर बसेको छु । कहीँ कतैबाट केही भए त कम्तीमा उपचार गर्न पाए सहज जिन्दगी जिउन सहज हुने थियो होला तर आफूसँग पैसा छैन कसरी उपचार गरौँ । सामान्य आर्थिक अवस्था भएका बेलबहादुर कुँवरको बायाँ आँखाको दृष्टिसमेत गुमेको छ भने दायाँ आँखाले अलिक थोरै मात्रै देख्ने गरेको छिमेकी घनश्याम सापकोटाले बताउनुभयो । बेलबहादुरकी श्रीमती देवीकलाको पनि बायाँ आँखाले अलि अलि देख्ने गरेको भए पनि दायाँ आँखाले भने केही पनि देख्दैन । गाउँघरमा केही लिन भनेर निस्किनुभयो भने जाने भनेको एकातिर हुन्छ अर्कैतिर पुग्ने गरेको सापकोटाले सुनाउनुभयो ।
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दाअघिको तलबभत्ता पाउने भएका छन्। १३ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन बिग्रिसकेका छन्। यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पनि पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म मजदुरले तलब पाउने बताउनुभयो ।
लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तिन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ शुक्रवार इजरायलबाट नेपाल फर्कनु भएका रुपन्देहीका शिव शङ्कर लोनीयाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देशनै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।
दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुलीमा किसानले उत्पादन गरेका तरकारी र फलफूल राख्नका लागि निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा नआउँदै बिग्रिएको छ । गलत डिजाइन र उपयुक्त ठाउँ छनोट नगरी चिस्यान केन्द्र बनाउँदा निर्माण भएको एक वर्ष नबित्दै भवन बिग्रिएको हो ।
कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि बिहीबार पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेल, स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्र, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काको उपस्थितिमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । मन्त्री पोख्रेलले कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनुपर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जानकारी दिनुभयो ।
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गरेको छ । गाउँपालिका अध्यक्ष र जनप्रतिनिधिको नजिक भएको व्यक्तिले जिम्मेवारी पाउँदै आएको पुरानो परम्परालाई तोड्दै गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरेको हो । पूर्वजनप्रतिनिधि ध्वजबहादुर शाहीले पालिकाले यस्तै मन जित्ने र निःस्वार्थ काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रधानाध्यापकको छनोट जुन असल नियतबाट भएको छ, त्यसप्रति धन्यवाद व्यक्त गर्दै उहाँले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलटाकुरास्थित कृषि क्याम्पसले सम्बन्धन नपाउँदा अत्याधुनिक भवन प्रयोगविहीन बनेको छ। कृषि क्याम्पस सञ्चालनका लागि सो स्थानमा २०७५ साल भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो। हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन्। उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो। २०७६ साल कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम सङ्कलन गरिएको थियो । सो रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्च गरिएको जनाइएको छ ।
महेन्द्रनगरकी श्वेता भट्ट भन्नुहुन्छ, इजरायलको लडाइ प्रत्यक्ष हेरे । यो मेरो पहिलो अनुभव हो जीवनकै । एकदमै खुसी छु । यो उद्धार प्रक्रिया यति छिटो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन । हामी त बाँचेर आयौँ । बाँकी साथीहरूको पनि छिटो उद्धार होस । उहाँले सरकारसँग आग्रह गर्नुभयो । हामी अव देशमै केही गर्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको उहाँ बताउनुहुन्छ ।
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता हुनुभएका बैतडीका विपिन जोशी अझै सम्पर्कमा आउन सकेका छैनन् । बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमका विपिन जोशी भदौ अन्तिम साता इजरायल जानुभएको थियो । हमासको आक्रमणपछि उहाँ शनिबारदेखि सम्पर्कविहीन हुनुहुन्छ ।
दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ नेपाल (हान) ले रैथाने खाना प्रवर्धन गर्ने भएको छ । दसैँको बिदामा कतिपय रेस्टुराँसमेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले होटलहरूले घर–घरमा खाइने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने हानका सदस्य होटलहरूले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ सम्म हुने हानले उल्लेख गरेको छ ।
मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् । त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।