• १५ मंसिर २०८१, शनिबार

भृकुटी कागज कारखानाका मजदुरले पाउँदै तलब

blog

नवलपरासी समाचारदाता 

गैँडाकोट, असोज २६ गते । नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दाअघिको तलबभत्ता पाउने भएका छन्। १३ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन बिग्रिसकेका छन्। 

यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पनि पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म मजदुरले तलब पाउने बताउनुभयो । 

यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उहाँले बताउनुभयो। उक्त कारखाना १३ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ। यो कारखाना चिनियाँ सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गर्दै आएकोमा बिचमा सरकारले गोल्छा अर्गनाइजेसनलाई बिक्री गरी निजीकरण गरिएको थियो। 

पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियन मजदुरका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन्। मजदुरका तर्फबाट आन्दोलनका संयोजक दर्शन सापकोटाले कारखाना व्यवस्थापनसँग लिखित सहमति भएको बताउनुभयो। २०६७ सालअघि र त्यसपछि  कारखाना सञ्चालन हुँदादेखिकै हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले बताउनुभयो। 

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३२८ जनाले तलबबापतको ३२ करोड रुपियाँ रकम पाउने भएका हुन् । असार मसान्तभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ।