• १४ मंसिर २०८१, शुक्रबार

लुक्लामा एकै दिन बयसट्ठी उडान

blog

काठमाडौँ, असोज २६ गते । मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् । त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । 

लुक्ला विमानस्थल प्रमुख उमेशकुमार पन्थीका अनुसार लुक्लाको मौसम खुलेसँगै बिहीबार रामेछाप–लुक्ला उडानमा पाँच सयभन्दा बढी पर्यटकले ओहोरदोहोर गरेका छन् । 

उहाँले भन्नुभयो, “बिहीबार बिहानैदेखि लुक्लाको मौसममा सुधार आएपछि जहाज र हेलिकोप्टरले उडान सेवा सुरु गरेका छन् । उडान सुचारु भएसँगै मन्थली र लुक्लामा रोकिएका पर्यटक आफ्नो गन्तव्यतर्फ लागेका छन् ।”

पाँच दिनको अवधिमा चार्टर हेलिकोप्टरले उडान गरे पनि जहाजको उडान भने ठप्प रहेको उहाँले बताउनुभयो । त्यस्तै मन्थली विमानस्थलका सूचना अधिकारी पूजा थापाका अनुसार जहाजको नियमित उडान रोकिँदा पनि लुक्लामा दैनिक दुई सय हाराहारीमा पर्यटक ओहोरदोहोर गर्दै आएका थिए । उहाँले भन्नुभयो, “बिहीबार दिउँसो एक घण्टा मौसम प्रतिकूल रहे पनि उडान अवस्था समान्य नै रह्यो । शुक्रबार पनि मौसमले साथ दिए रोकिएका सबै पर्यटक गन्तव्यमा पुग्ने अपेक्षा गरेका छौँ ।”

सफा मौसम भएको समयमा मन्थली–लुम्लामा दैनिक ४० पटकभन्दा बढी उडान हुँदै आएका छन् ।