अमृतप्रसाद पौडेल
म्याग्दी, असोज २६ गते । दुवै खुट्टाको घुँडाको हड्डी खिइएर बाङ्गो भएपछि हिँड्नसमेत निकै कठिन अवस्थामा पुगेका बेलबहादुर कुँवर उपचारको पर्खाइमा हुनुहुन्छ । बेनी नगरपालिका–२, खबराको बिराहचौरका कुँवरका लागि आर्थिक अभाव हुँदा पछिल्लो दुई वर्षदेखि उपचार त्यसै रोकिएको छ ।
कुँवरले भन्नुभयो, “चार वर्षअगाडिसम्म सबै ठिक थियो । त्यसपछि विस्तारै घुँडामा समस्या हुँदै गयो र अहिले यस्तो अवस्थामा पुगेको छु ।” पोखरास्थित गण्डकी अस्पतालमा दुई वर्षअगाडि उपचारका लागि पुग्दा घुँडाको हड्डी खिइएकाले त्यसको अपरेसन गरेर फेर्नुपर्ने र १२ लाखभन्दा बढी खर्च लाग्ने भनेपछि आफूसँग उपचार गर्ने पैसा नहुँदा फर्केर घरमै बस्न थालेको उहाँको भनाइ छ । म ठिक हुँदा अरूलाई पनि सहयोग गर्ने गर्थें तर आफैँ यस्तो हुँदा कसैले केही सहयोग गरे ठिकै छ भनेर बसेको छु । कहीँ कतैबाट केही भए त कम्तीमा उपचार गर्न पाए सहज जिन्दगी जिउन सहज हुने थियो होला तर आफूसँग पैसा छैन कसरी उपचार गरौँ ।
सामान्य आर्थिक अवस्था भएका बेलबहादुर कुँवरको बायाँ आँखाको दृष्टिसमेत गुमेको छ भने दायाँ आँखाले अलिक थोरै मात्रै देख्ने गरेको छिमेकी घनश्याम सापकोटाले बताउनुभयो । बेलबहादुरकी श्रीमती देवीकलाको पनि बायाँ आँखाले अलि अलि देख्ने गरेको भए पनि दायाँ आँखाले भने केही पनि देख्दैन । गाउँघरमा केही लिन भनेर निस्किनुभयो भने जाने भनेको एकातिर हुन्छ अर्कैतिर पुग्ने गरेको सापकोटाले सुनाउनुभयो ।
श्रीमान् श्रीमती नै आँखाको समस्याबाट पीडित भएको परिवारमा श्रीमान्को गोडामा समेत देखिएको समस्याले गर्दा कुँवर परिवारलाई हातमुख जोर्नसमेत अहिले कठिन भएको छ ।