राज्यका सम्पूर्ण सेवाको जननीका रूपमा सुपरिचित निजामती सेवा नेपाल राज्यभर सञ्जाल फैलिएको नागरिकको आशा, भरोसा र विश्वासको बृहत सेवा प्रदायक संयन्त्र हो। स्वतन्त्र एवं निष्पक्ष संवैधानिक अङ्ग लोकसेवा आयोगका चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक परीक्षाहरू पार गरेर आएका ऊर्जाशील जनशक्तिहरूको जमातले निजामती सेवाको कार्यसम्पादन गुणस्तर अभिवृद्धि मात्र गरेको छैन नागरिकहरूको विश्वास आर्जन गर्नसमेत सफल भएको छ। विगतमा यसलाई सरकारको सिन्दूरको महिमाले विभूषित गरिँदै आएकोमा अहिले जनताको सेवाको महिमाले विभूषित गरिएको छ। विश्वमा सन् १८५४ मा बेलायतबाट र नेपालमा वि.सं. २०१३ बाट औपचारिक रूपमा सुरुवात भएको यो सेवा सरकार र नागरिकबीचको सम्बन्ध सेतुको रूपमा स्थापित हुनुका साथै भरपर्दो र मर्यादित सेवाको रूपमा समेत अनवरत क्रियाशील छ।
निजामती सेवा सार्वजनिक प्रशासनको आधारस्तम्भ भएको हुनाले यसले समग्र सार्वजनिक सेवा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ। नेपालको निजामती सेवाले विभिन्न खालका राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै आएको छ। सङ्घीय नेपालको शासन प्रणालीलाई सहज दिशा प्रदान गर्न पनि तत्पर छ। निजामती सेवालाई बढीभन्दा बढी जवाफदेही, नागरिकमैत्री, प्रविधिमैत्री, सेवामैत्री र छरितो बनाउनुपर्नेछ। जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्दै निजामती सेवालाई मुलुकको समग्र विकासको धरोहरका रूपमा स्थापित गर्नु आवश्यक छ।
सार्वजनिक प्रशासनको क्षेत्रमा राज्य र नागरिकको हितका लागि सार्वजनिक नीति निर्माणमा सहयोग गर्ने, प्रतिपादित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने एवं शान्ति, सुव्यवस्था र सुशासनका लागि स्थापित प्रशासनिक संयन्त्र र त्यसमा क्रियाशील कर्मचारीको समष्टिगत रूप नै कर्मचारीतन्त्र हो। लोकतान्त्रिक अभ्यासमा नागरिकलाई सघाउने, अधिकारमा पहुँच दिने, जनचाहना एवं आवश्यकताको अभिलेखन गर्दै सरकारसँग जनताको सम्पर्क स्थापित गर्ने माध्यम राष्ट्रसेवक कर्मचारी नै हुन्।
पोखराको ल्यान्डफिल्ड साइट क्षेत्रमा वर्षौंदेखि विचरण गरिरहेका पन्छीको स्थानान्तरण तथा सुरक्षित बसोबासको विकल्प खोज्न थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसका लागि पूर्वीनवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्टको स्थलगत अवलोकन गर्नुभएको छ । सो रेस्टुरेन्ट सञ्चालनमा अपनाइएका अभ्यासको स्थलगत अवलोकन गरिएको हो । “सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सुरक्षित अवतरणका लागि यस्तो उपाय खोज्न थालिएको हो । ल्यान्डफिल्ड साइट आसपासमा बसोबास गरिरहेका पन्छीहरूका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने देखियो,” आचार्यले भन्नुभयो, “तिनीहरूलाई आवश्यक आहारा तथा सुरक्षित आवासका लागि स्थानान्तरण आवश्यक रहेको छ । यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जटायु रेस्टुरेन्टको अवलोकन गरिएको हो प्रमुख आचार्यले भन्नुभयो । पोखरामा २०औँ वर्षलाई पुग्ने ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याए पनि विमानस्थलका कारण व्यवस्थापनमा समस्या भएको छ ।
सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो महसुस भएको बताउनुभयो। चलचित्रको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिनुभएको थियो। प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले चलचित्र सुन्दर बनेको बताउँदै चलचित्रलाई नेपालभरिका स्कुलमा देखाउन आग्रह गर्नुभयो। रङ्गमकर्मी विमल सुवेदीले चलचित्रलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताउनुभयो।
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार–२०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा उजुरी परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवामा गर्नुपर्ने भएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।
मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा काठजन्य वस्तु आयात गर्नुपरेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा आठ अर्ब २२ करोड ३८ लाख ६५ हजार ५२६ रुपियाँको काठ र काठजन्य सामान आयात भएको छ । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ८६ लाख तीन हजार ५९१ रुपियाँको तथा आव २०७६/७७ मा पाँच अर्ब ८० करोड ३४ लाख ६७ हजार ५२९ रुपियाँको काठ र काठजन्य सामान आयात भएको विभागको तथ्याङ्क छ ।
कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताउनुभयो ।
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।
निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिनुभयो। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था हटाउँदै प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। कार्यकालको अस्पष्टता हटाउन भन्दै सरकारले ल्याएको विधेयकमा समेटिएको उक्त प्रावधान हटाइएको हो। सरकारले विधेयकको व्यवस्था फिर्ता लिएपछि कार्यकाल अब पूर्वाभ्यासकै आधारमा तय हुने भएको छ। कानुनी रूपमा भने कार्यकालको गणना र अन्त्यको रिक्तता नै रहने छ। नेपालको संविधानले कार्यकाल पाँच वर्ष हुने उल्लेख गरे पनि सुरु अन्त्य गणनाका विषयमा कानुनी रिक्तता छ। यसअघि २०७४ मा संसद्को कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम भएको थियो।
सत्ता गठबन्धनको कार्यदलको मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ ।