• २२ पुस २०८१, सोमबार

सत्ता गठबन्धन कार्यदलको बैठक

प्रतिवेदन लिपिबद्ध गर्ने चरणमा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २१ गते । सत्ता गठबन्धनको कार्यदलको मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ ।

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा शीर्षस्थ नेताहरुले कार्यदललाई सुम्पेको जिम्मेवारी पूरा गर्ने नजिक पुगेको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘शीर्षस्थ नेतृत्वबाट जुन जिम्मेवारी सुम्पिएको थियो । त्यो, जिम्मेवारीको कार्यसम्पादनको हामी नजिक पुगेका छौं । भोलि फेरि ५ बजे बैठक बस्छ ।’’

त्यसपछि अन्तिम  निष्कर्ष निकालेर शीर्षस्थ नेतामा प्रतिवेदन पेश गरिने उहाँले बताउनुभयो ।

सिट बाँडफाँटको प्रतिवेदन करिबकरिब लिपिबद्ध गर्ने अवस्थामा पुगेको र भोलिको बैठकमा यो तयार हुने उहाँको भनाइ छ ।

लिपिबद्ध गरेर जुन कार्यभार दिइएको छ त्यो सम्पन्न गर्छौं, मन्त्री कार्कीले भन्नुभयो ।

उहाँले प्रतिनिधिसभाको सम्पन्न भएपछि प्रदेशसभाको कार्य सम्पन्न गर्न सहज हुने ढंगबाट छलफल भएको पनि उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदलको संयोजक हुनुहुन्छ । सदस्यहरुमा सञ्चारमन्त्री कार्कीसहित कांग्रेस महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल सदस्य हुनुहुन्छ ।

यसैगरी, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सहभागी हुँदै आउनुभएको छ ।