• २३ पुस २०८१, मङ्गलबार

बढे हवाई यात्रु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २१ गते । नेपालमा हवाईयात्रा गर्नेको सङ्ख्या बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२४ मा हवाई यात्रुको सङ्ख्या आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ ९.७ प्रतिशतले वृद्धि भएको हो ।

प्राधिकरणका अनुसार सन् २०२४ को नोभेम्बरसम्म देशभर सञ्चालनमा रहेको तीन अन्तर्राष्ट्रियसहित ३५ विमानस्थलबाट आन्तरिकतर्फ ८७ लाख ६० हजार ३०२ जनाले हवाईयात्रा गरेका छन् । सन् २०२३ को सोही अवधिमा ७७ लाख हवाई यात्रुले यात्रा गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । 

त्यस्तै सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४९ हजार १३३ जनाले हवाईयात्रा गरेका छन् । यो अवधिमा दुई लाख ७१ हजार उडान अवतरण भएको प्राधिकरणले जनाएको छ । 

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ भने दोस्रोमा पोखरा र तेस्रोमा विराटनगर विमानस्थलले हवाईसेवा दिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को ११ महिनामा भएका ३० हजार ६३० उडान अवतरणमार्फत ७४ लाख यात्रुले सेवा लिएका छन् । अहिले विमानस्थलको ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तार भइरहेकाले आगामी वर्ष विमानस्थलको धावनमार्गको क्षमता बढेर थप हवाई यात्रुले सुविधा लिन सक्ने छन् ।”

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा चैतपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता एक करोडको हाराहारी पुग्ने उहाँको भनाइ छ । प्राधिकरणको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२४ मा १२ अर्ब ८६ करोड ६६ लाख रुपियाँ आम्दानी गरेको छ ।

त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यो अवधिमा कुल २२ हजार ३९२ उडान अवतरण भएका छन् । जसमार्फत नौ लाख ३० हजार यात्रुले सेवा लिएका छन् ।

सन् २०२३ मा नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या २९ रहेकामा सन् २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपश्चात् यो सङ्ख्या २८ भएको छ । हाल नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । त्यस्तै आन्तरिकतर्फ १९ वटा वायुयानले हवाईसेवा दिइरहेका छन् ।