कबिराज घिमिरे
हिले, पुस २२ गते । धनकुटामा प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । छथरजोरपाटी गाउँपालिका –६ स्थित सिधुवा बजारमा चेकजाँचका क्रममा दुई जनाको साथबाट लागुऔषध बरामद गरेको हो ।
धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को २६ प ९२९० नम्बरको मोटरसाइकलमा सवार तेह्रथुम लालीगुराँस नगरपालिका –२ का ३२ वर्षीय विकाश श्रेष्ठ र तेह्रथुम मेन्छ्यायेम गाउँपालिका –६ थाम्ब्रेनका २६ वर्षीय राजिव सम्ब्रहाम्फेको साथबाट २ सय १० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
सोधपुछका क्रममा उनीहरुले उक्त लागुऔषध धनकुटा नगरपालिका –१ हिले सिरान निवासी २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङबाट खरिद गरेको खुलाएका थिए । प्रहरीले हिलेका दिलबहादुर लिम्बुको भान्सा कोठाबाट केवल र सुजन तामाङको साथबाट थप ८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ ।
प्रहरीले मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर अनुसन्धान गरिरहेको छ । बरामद लागुऔषधको कुल परिमाण प्लास्टिकसहित २ सय ९० मिलिग्राम रहेको धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।