रामकृष्ण बोहरा
बागलुङ, असार ६ गते । वर्षा याममा धान खेतीले भरीभराउ देखिने ठुलो खेत मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुलाका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइ नभ्याई हुन्थ्यो । तर ठुलो खेतले आजभोली वर्ण फेरेको छ । वर्षामा धानखेती र हिउँदमा मकै तथा नगदेबालीले सिङ्गारिने ठुलो खेत आजभोली बाँझिन थालेको छ ।
बागलुङको जैमिनी नगरपालिका– १ कुश्मीसेरामा रहेको त्यहि ठुलोखेत आजभोलि किसानका लागि बिरानो जस्तै बनेको छ । मुलाको बिउ उत्पादन गरेर बिक्री गर्दा किसानको घरगुजारा मात्रै चलेको थिएन, केही रकम बचत हुन्थ्यो, सन्ततीले राम्रा विद्यालयमा पढे, कसैले त घरघडेरी समेत जोड् सफल भए ।
पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि ठुलाखेतमा स्थानीय जातको मुलाको बिउ उत्पादन हुन छाडेको हो । बिउ खरिद गर्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आर्कषित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । स्थानीय जातको बिउभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको किसान मोतीप्रसाद पौडेलले बताउनुहुन्छ । सात वर्ष अघिसम्म लाखौंको मुलाको बिउ उत्पादन हुने ठुलाखेत आजभोलि किसानका लागि बिरानो बनेको पौडेल सुनाउनुहुन्छ ।
वि.सं २०५२ सालदेखि कृषि मन्त्रालयको कोशी पहाडी तरकारी आयोजना र बिउ बिजन प्रवर्धन कार्यक्रमले ठुला खेतलाई मुलाको व्याड बनाएको थियो । ‘‘धान बाली थन्क्याएपछि लगाइने मुलाले चार महिनामै उत्पादन दिन्थ्यो, मैलै एकै वर्षमा ६ हजार केजीसम्म बिउ बेचेको थिएँ’’ पौडेलले स्मरण गर्दै भन्नुभयो ।
मुलाको बिउ बेचेर स्थानीय डिल्लीप्रसाद आचार्य र माया नेपाली लगायतका किसानले वार्षिक पाँच लाखभन्दा बढी रकम आम्दानी गर्न सफल भएको पौडेलले बताउनुभयो ।
ठुलाखेतमा उत्पादन हुने बिउ काठमाडौँ र भैरहवा लगायतका बिउ भण्डारले खरिद गरेर लैजाने गरेको पौडेल सम्झनुहुन्छ । बिउ बिक्री हुन छाडेपछि वि.सं २०७६ सालपछि ठुलाखेतमा बिउ उत्पादनका लागि खेती हुन छाडेको हो । ‘‘८ सय रोपनी जमिनमा फैलिएको मुला खेती अहिले दुइचार रोपनीमा सिमित बनेको छ’’ पौडेलले भन्नुभयो, ‘‘हाइब्रिड बिउले स्थानीय जातको बिउलाई विस्थापित गर्दा आजभोलि घरकै भान्सामा प्रयोग गर्न मात्रै खेती हुने गरेको छ ।’’
किसानले दुःख गरेर उत्पादन गर्दा प्रतिकेजी एक सय पचास रुपियाँ पर्ने बिउ बजारमा एक सयमै पाइन थालेको किसानले उत्पादन छाडेको उहाँको भनाइ छ । हाइब्रीड बिउ एकपटकका लागि मात्रै हो, हामीले उत्पादन गरेको बिउ पटक पटक प्रयोग गर्न सकिने भए पनि व्यापारी र किसानले नबुझेको पौडेल बताउनुहुन्छ । स्थानीय जातको बिउ उत्पादनमा स्थानीय सरकार र सरकारी निकायको ध्यान जान सके ठुलाखेतमा मुलाखेतीले पुनः हराभरा बन्ने पौडेल सम्भावना देख्नुहुन्छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवाल ल्याब परीक्षण गरेर बिउ बिक्री गर्ने चलन बसेपछि व्यापारीले चासो दिन छाडेको बताउनुहुन्छ । जिल्ला तहमा ल्याब राख्ने अवस्था नभएपछि किसान–व्यापारीको सम्बन्ध टुटेको पौडेलको भनाइ छ ।